Techie IT
KTM Post
सोमबार, २२ असार, २०८३

घरजग्गा कारोबारमा २२३ प्रतिशतको उछाल, तीन महिनामै काठमाडौंमा १८४ अर्बको कारोबार


काठमाडौं । लामो समयदेखि मन्दीको चपेटामा परेको नेपालको घरजग्गा (रियल स्टेट) बजारले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमासमा बलियो ‘यु–टर्न’ लिएको छ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ताजा प्रतिवेदनअनुसार यो अवधिमा देशभर कुल १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा किनबेच भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको (१०० अर्ब ७ करोड) तुलनामा निकै उच्च हो। शिथिल अर्थतन्त्रका बीच राजधानी काठमाडौंमा मात्रै घरजग्गा कारोबारको कुल मूल्यमा २२३.१२ प्रतिशतको अप्रत्याशित उछाल आएसँगै सिंगो रियल स्टेट क्षेत्रमा उत्साह फर्किएको संकेत मिलेको छ।

केन्द्रीय बैंकको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ सम्बन्धी प्रतिवेदनअनुसार अघिल्लो वर्ष ४.५२ प्रतिशतले ऋणात्मक रहेको राष्ट्रियस्तरको कुल कारोबार संख्या यसपालि ६.४२ प्रतिशतले वृद्धि भएको छ। देशैभर लिखतपारित अन्तर्गतको राजीनामा कारोबार संख्या १२.१७ प्रतिशत र कारोबार भएको कुल क्षेत्रफल १.६० प्रतिशतले बढेको छ। घरजग्गामा आएको यो अकल्पनीय चमकका कारण सरकारको राजस्व संकलनमा २३.७२ प्रतिशत र पुँजीगत लाभकरमा ३१.४२ प्रतिशतको भारी वृद्धि देखिएको छ। यद्यपि, बजारमा नगद प्रवाह बढे पनि बैंकहरूबाट यस क्षेत्रमा जाने कर्जाको वृद्धिदर भने अघिल्लो वर्षको ७.५२ प्रतिशतबाट केही सुस्त भएर ५.५५ प्रतिशतमा सीमित भएको छ।

प्रादेशिक तथा क्षेत्रगत आधारमा हेर्दा बागमती प्रदेश र विशेष गरी महानगरपालिकाहरू घरजग्गाको मुख्य आकर्षण केन्द्र बनेका छन्। बागमती प्रदेशमा मात्रै राजीनामा कारोबार संख्या ३३.०१ प्रतिशतले बढ्दा कुल कारोबार मूल्य १३१.५२ प्रतिशतले उकालो लागेको छ। तर मधेश प्रदेशमा भने कारोबार संख्या (४.७९ प्रतिशत) र क्षेत्रफल (९.३३ प्रतिशत) घट्दा पनि कुल मूल्य भने २२.६७ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ। कित्ताकाट र प्लटिङको ट्रेन्ड हेर्दा सातवटै प्रदेशमा उपभोक्ताहरूले २.५ देखि १० आना क्षेत्रफलका साना प्लटहरू नै सबैभन्दा बढी रुचाएको देखिन्छ।

काठमाडौं महानगरपालिकाबाहेक अन्य ५ वटै महानगरमा पनि कारोबारको ग्राफ उकालो लागेको छ। पोखरा महानगरमा ८२.१५ प्रतिशत, ललितपुरमा ७३.८१ प्रतिशत, वीरगन्जमा ३१.०७ प्रतिशत, भरतपुरमा २९.२१ प्रतिशत र विराटनगरमा २७.९२ प्रतिशतले कारोबार संख्या बढेको छ। त्यस्तै, उप–महानगरपालिकाहरूको हकमा कलैयाबाहेक अन्य सबै क्षेत्र चलायमान हुँदा बुटवलमा सबैभन्दा धेरै ५६.७९ प्रतिशतले कारोबार संख्या बढेको छ भने कारोबार मूल्यका आधारमा तुलसीपुर उप–महानगरपालिका १३४.४६ प्रतिशतको वृद्धिसहित अगाडि देखिएको छ।

 


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट