बर्डफ्लुबाट प्रभावित किसानलाई एक साताभित्र ५२ करोड रुपैयाँ क्षतिपूर्ति वितरण गरिने
काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा पन्छीजन्य वस्तुको क्षतिपूर्तिस्वरूप देशका ११ जिल्लाका प्रभावित किसानलाई एक साताभित्र करिब ५२ करोड रुपैयाँ वितरण गर्ने तयारी गरेको छ।
विभागका अनुसार रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको प्रमाणित क्षतिको मूल्यांकनका आधारमा सम्बन्धित किसानलाई ७५ प्रतिशतसम्म राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराइनेछ।विभागका प्रवक्ता मुकुल उपाध्यायले प्रमाणित क्षतिको दाबी गरेका किसानको बैंक खातामै एक साताभित्र रकम जम्मा गरिने जानकारी दिए।
उनका अनुसार प्राविधिक कारणले असार मसान्तसम्म क्षतिपूर्ति प्राप्त गर्न नसकेका किसानलाई आगामी आर्थिक वर्षमा पनि रकम उपलब्ध गराइनेछ।
बर्डफ्लु नियन्त्रण नियमावलीअनुसार राहत वितरण गरिने भएकाले पन्छी तथा पन्छीजन्य वस्तु नष्ट गरिएका सबै किसानलाई आवश्यक प्रमाणसहित सम्बन्धित जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिन विभागले आग्रह गरेको छ।विभागका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी बर्डफ्लुबाट बढी प्रभावित जिल्ला हुन्।
हालसम्म देशभर करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलोग्राम दाना नष्ट गरिएको छ। यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको विभागको अनुमान छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया