Techie IT
KTM Post
मंगलबार, २३ असार, २०८३

विश्वकप २०२६ फाइनलको विशेष बल सार्वजनिक, कति पर्छ मूल्य ?


काठमाडौं । २०२६ विश्वकप फुटबलको फाइनल खेलका लागि प्रयोग गरिने आधिकारिक बल सार्वजनिक गरिएको छ। प्रतियोगिताको आधिकारिक साझेदार एडिडासले विश्व फुटबल महासंघ (फिफा)सँगको सहकार्यमा ‘ट्रायोन्डा फाइनल’ नामक विशेष बल सार्वजनिक गरेको हो।

पहिलो पटक ४८ टोलीको सहभागितामा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको विश्वकप अहिले नकआउट चरणमा पुगेको छ। जुलाई २० मा हुने फाइनल खेलका लागि तयार गरिएको यो बल सेमिफाइनल, तेस्रो स्थानका लागि हुने खेल (ब्रोन्ज फाइनल) र फाइनलमा प्रयोग गरिनेछ।

‘ट्रायोन्डा फाइनल’ बलको डिजाइनमा प्रतियोगिता आयोजना गर्ने १६ सहरलाई सम्मान गरिएको छ। डलास, अटलान्टा, मियामी तथा न्यूयोर्क–न्यु जर्सीलाई मुख्य डिजाइनमा प्राथमिकता दिइएको छ भने बोस्टन, ग्वाडालाहारा, ह्युस्टन, कान्सास सिटी, लस एन्जलस, मेक्सिको सिटी, मोन्टेरे, फिलाडेल्फिया, सान फ्रान्सिस्को बे एरिया, सिएटल, टोरन्टो र भ्यानकुभरलाई त्रिकोणीय ग्राफिक डिजाइनमार्फत समेटिएको छ।

कति छ मूल्य?

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ‘ट्रायोन्डा’ विभिन्न संस्करणमा उपलब्ध छ।

तालिम तथा सामान्य खेलका लागि तयार गरिएको ‘लिग’ संस्करणको मूल्य करिब ४५ अमेरिकी डलर (झण्डै ६ हजार ८४० रुपैयाँ) तोकिएको छ। व्यावसायिक प्रतियोगिताका लागि उपयुक्त ‘कम्पिटिशन’ संस्करणको मूल्य ६५ डलर (करिब ९ हजार ८८० रुपैयाँ) रहेको छ।

विश्वकपका आधिकारिक खेलमा प्रयोग हुने कनेक्टेड बल प्रविधिसहितको ‘प्रो’ संस्करणको मूल्य १७० डलर (करिब २५ हजार ८४० रुपैयाँ) रहेको छ।

यसैगरी, १५ वटा मिनी बल समावेश गरिएको सङ्ग्रहणीय प्याकको मूल्य २५० डलर (करिब ३८ हजार रुपैयाँ) र प्रो बल सेटको मूल्य ४०० डलर (करिब ६० हजार ८०० रुपैयाँ) निर्धारण गरिएको छ।

यी सबै संस्करण एडिडासको आधिकारिक स्टोर, फिफाको आधिकारिक पसल तथा प्रमाणित स्पोर्ट्स रिटेलरमार्फत खरिद गर्न सकिने जनाइएको छ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट