१६ वर्षपछि स्पेन विश्वकपको क्वाटरफाइनलमा, पोर्चुगल पराजित
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ–१६ मा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। अन्तिम समयमा आएको निर्णायक गोलसँगै उपाधिको दाबेदार मानिएको पोर्चुगल भने प्रतियोगिताबाट बाहिरिएको छ।
अमेरिकाको डलासस्थित रंगशालामा भएको खेलमा दुवै टोलीले सुरुदेखि नै आक्रामक प्रदर्शन गरेका थिए। निर्धारित ९० मिनेटसम्म दुवै पक्षले गोलका अवसर सिर्जना गरे पनि कुनै टोलीले जाली चुमाउन सकेन।खेल अतिरिक्त समयतर्फ जाने अनुमान भइरहेका बेला दोस्रो हाफको इन्जुरी समयमा मिकेल मेरिनोले गरेको उत्कृष्ट गोलले स्पेनलाई बहुमूल्य जित दिलायो। खेलभर बल पोजेसन र आक्रामक खेलमा प्रभावशाली देखिएको स्पेनका लागि मेरिनोको गोल नै निर्णायक बन्यो।
यस जितसँगै स्पेन १६ वर्षपछि पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ। सन् २०१० मा दक्षिण अफ्रिकामा विश्वकप उपाधि जितेपछि स्पेनले पहिलो पटक अन्तिम आठमा स्थान बनाएको हो।
अन्तिम क्षणमा गोल खाएपछि क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल स्तब्ध बन्दै विश्वकपबाट बाहिरिएको छ। स्पेन भने लगातार प्रभावशाली प्रदर्शन गर्दै उपाधितर्फको आफ्नो यात्रा अघि बढाउन सफल भएको छ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया