विश्वकपबाट बाहिरिएपछि रोनाल्डोको भावुक प्रतिक्रिया: ‘सायद यही मेरो अन्तिम विश्वकप थियो’
काठमाडौं । पोर्चुगलका कप्तान तथा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप २०२६ बाट बाहिरिएपछि आफ्नो सम्भावित अन्तिम विश्वकप उपाधिविहीन रूपमा टुंगिएकोमा दुःख व्यक्त गरेका छन्। राउन्ड अफ–१६ मा स्पेनसँग १–० ले पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएपछि उनले आफ्नो अन्तर्राष्ट्रिय भविष्यबारे सोच्न समय लिने बताएका हुन्।
खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै रोनाल्डोले विश्वकपबाट यसरी बाहिरिनु पीडादायी भए पनि आफूले देशका लागि सक्दो योगदान दिएको र त्यसमा कुनै पछुतो नरहेको बताए।उनले भने, “विश्वकपबाट यसरी बाहिरिनु स्वाभाविक रूपमा दुःखद हो। मैले आफ्नो तर्फबाट सक्दो प्रयास गरेँ र मेरो अन्तस्करण सफा छ। सम्भवतः यो मेरो अन्तिम विश्वकप थियो। अब केही समय परिवारसँग बिताएर शान्त वातावरणमा आफ्नो भविष्यबारे सोच्नेछु। भावनामा बगेर कुनै निर्णय गर्ने छैन।”
रोनाल्डोले आफू आवेगमा निर्णय गर्ने स्वभावको व्यक्ति नभएको उल्लेख गर्दै राष्ट्रिय टोलीबाट खेल्ने वा नखेल्ने विषयमा तत्काल निर्णय नगर्ने स्पष्ट पारे।आफ्नो कप्तानीमा पोर्चुगलले हासिल गरेको उपलब्धिको स्मरण गर्दै उनले सन् २०१६ को युरोपियन च्याम्पियनसिप जितलाई विशेष उपलब्धिका रूपमा उल्लेख गरे।
उनले भने, “मैले पोर्चुगलका लागि तीनवटा प्रमुख उपाधि जितेको छु। म राष्ट्रिय टोलीमा आउनुअघि पोर्चुगलले कुनै ठूलो उपाधि जितेको थिएन। मेरो लागि २०१६ को युरो उपाधि विश्वकप जित्नुसरहको उपलब्धि हो।”
विश्वकपबाट बाहिरिएसँगै पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि पद छाड्ने घोषणा गरेका छन्। रोनाल्डोले मार्टिनेजको प्रशंसा गर्दै उनलाई उत्कृष्ट प्रशिक्षक र असल व्यक्तिको संज्ञा दिए।
“उनीसँग काम गर्न पाउँदा निकै खुसी लागेको थियो। उनले पोर्चुगल फुटबलका लागि महत्त्वपूर्ण योगदान दिएका छन्। उनको आगामी यात्राका लागि शुभकामना छ,” उनले भने।
रोनाल्डोले विश्वकपबाट बाहिरिनु कुनै पनि टोलीका लागि पीडादायी हुने उल्लेख गर्दै पोर्चुगलले प्रतियोगिताभर राम्रो प्रदर्शन गरेको दाबी गरे। फुटबलमा कहिलेकाहीँ सानो अन्तरले पनि नतिजा निर्धारण हुने भएकाले टोलीले आफ्नो प्रदर्शनप्रति गर्व गर्नुपर्ने उनको भनाइ थियो।स्पेनसँगको हारसँगै रोनाल्डोको विश्वकप यात्रा समाप्त भएको छ। उनले राष्ट्रिय टोलीबाट भविष्यमा खेल्ने वा नखेल्ने विषयमा भने केही समयपछि मात्र औपचारिक निर्णय सार्वजनिक गर्ने संकेत दिएका छन्।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया