अफगानिस्तानका पूर्व क्रिकेटर शपूर जादरानको दुर्लभ र गम्भीर रोगका कारण निधन
काठमाडौँ । अफगानिस्तानका पूर्व तीव्र गतिका बलर शापूर जादरानको ३९औँ जन्मदिनअघि निधन भएको छ। लामो समयदेखि दुर्लभ तथा जटिल स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका जादरानले मंगलबार अन्तिम श्वास लिएका हुन्।
अफगानिस्तान क्रिकेट बोर्डले सामाजिक सञ्जालमार्फत उनको निधनको पुष्टि गर्दै गहिरो दुःख व्यक्त गरेको छ। बोर्डले अफगानिस्तान क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न जादरानले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई देशको क्रिकेट इतिहासका महत्वपूर्ण खेलाडीमध्ये एकका रूपमा सम्झिएको छ।
पारिवारिक स्रोतका अनुसार जादरान गत वर्ष अक्टोबरदेखि बिरामी थिए। उनलाई ‘हेमोफागोसाइटिक लिम्फोहिस्टियोसाइटोसिस’ (एचएलएच) नामक दुर्लभ तथा गम्भीर रोग लागेको थियो, जसले शरीरको प्रतिरक्षा प्रणालीलाई गम्भीर रूपमा प्रभावित बनाउँछ।उपचारका लागि उनलाई यस वर्ष जनवरीमा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनका भाइ घमई जादरान र अफगानिस्तानका पूर्वकप्तान असगर अफगान पनि उनीसँगै रहेका थिए। पछिल्लो समय संक्रमण थप जटिल बन्दै गएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिए पनि जोगाउन नसकिएको बताइएको छ।
बायाँ हाते तीव्र गतिका बलर जादरानले सन् २००९ देखि २०२० सम्म अफगानिस्तानका लागि ४३ एकदिवसीय र ३७ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए।
सन् २०१५ को एकदिवसीय विश्वकपमा स्कटल्यान्डविरुद्ध अफगानिस्तानले हासिल गरेको पहिलो ऐतिहासिक जितमा उनले चार विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसै खेलमा अन्तिम समयमा विजयी चौका प्रहार गर्दै टोलीलाई ऐतिहासिक सफलता दिलाएका थिए।
आक्रामक खेलशैली र लामो कपालका कारण परिचित जादरानको असामयिक निधनले अफगानिस्तान मात्र होइन, अन्तर्राष्ट्रिय क्रिकेट समुदायलाई पनि स्तब्ध बनाएको छ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया