अमेरिका-इरान युद्धविराम भङ्ग भएपछि विश्व बजारमा हलचल, तेलको मूल्य बढ्यो, शेयर बजार ध्वस्त
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौता तथा युद्धविराम समाप्त भएको घोषणा गरेपछि मध्यपूर्वमा तनाव चुलिएको छ। यसको प्रत्यक्ष असर विश्व अर्थतन्त्र, ऊर्जा बजार र अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा देखिन थालेको छ।
बढ्दो भू-राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा उकालो लागेको छ भने एसिया र युरोपका प्रमुख सेयर बजारहरूमा उल्लेखनीय गिरावट आएको छ।अमेरिका–इरान सम्बन्ध फेरि तनावपूर्ण बनेपछि ब्रेन्ट क्रूडको मूल्य करिब ६ प्रतिशतले बढेर प्रतिव्यारेल ७८ अमेरिकी डलर पुगेको छ। ऊर्जा आपूर्तिमा अवरोध आउन सक्ने चिन्ताले आगामी दिनमा तेलको मूल्य अझै बढ्न सक्ने विश्लेषण गरिएको छ।
यस्तै, मध्यपूर्वको अस्थिरताले विश्वव्यापी महँगी बढ्ने र ऊर्जा आपूर्ति प्रभावित हुने आशंकाका बीच युरोपेली सेयर बजारहरूमा करिब १.६ प्रतिशतको गिरावट आएको छ।यसैबीच, युरोपेली सङ्घको उड्डयन सुरक्षा एजेन्सी (ईएएसए) ले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै सबै विमान कम्पनीलाई इरान, इराक र लेबनानको हवाई क्षेत्र प्रयोग नगर्न सिफारिस गरेको छ।
एजेन्सीले जारी गरेको उड्डयन सुरक्षा परामर्श (एड्भाइजरी) हालका लागि सन् २०२६ अगस्ट ३१ सम्म लागू रहने जनाएको छ। यद्यपि, क्षेत्रीय सुरक्षा अवस्थाको मूल्याङ्कनका आधारमा उक्त निर्णय आवश्यक परे त्यसअघि नै पुनरावलोकन गर्न सकिने पनि एजेन्सीले उल्लेख गरेको छ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया