नेपाल–चीन इन्भेष्टमेन्ट समिट : डिजिटल इन्फ्रास्ट्रचर र एआई नीतिमा सहकार्य
काठमाडौं । चीन र नेपालका उद्यमी व्यवसायीले भरपर्दो डिजिटल इन्फ्रास्ट्रचर, दक्ष जनशक्तिको आदानप्रदानदेखि एआईको सुरक्षित प्रयोगका लागि नीति तथा साइवर सुरक्षा सहकार्यमा जोड दिएका छन् । बेइजिङस्थित नेपाली दूतावास र चीन सरकारको चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेडले बेइजिङमा आयोजना गरेको नेपाल–चीन इन्भेष्टमेन्ट एन्ड ट्रेड समिटमा सहभागीहरूले यस्तो जोड दिएका हुन् ।
व्यावसायिक क्षेत्रको अग्रणी बिजनेस कन्सल्टिङ साझेदार नेपाल बिजनेस इन्ष्ट्रिच्युट (एनबिआई)का कार्यकारी अध्यक्ष विशाल गैरेले चिनियाँ लगानीकर्तालाई एआई र डिजिटल इन्फ्रास्ट्रचरमा लगानी गर्न आह्वान गरे । एआई र डिजिटल प्रविधिको प्रयोगले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सावर्जनिक सेवा र आर्थिक विकासमा उल्लेखनीय प्रगति हुने उनले दाबी गरे ।
उच्च गतिको इन्टरनेट पँहुच, डाटा सेन्टर र क्लाउड पूर्वाधार, डिजिटल साक्षरता, साइबर सुरक्षा, एआई नीति र कानुनी व्यवस्थाका विषयमा जोड दिइएको थियो । त्यस्तै, सरकारी डिजिटल सेवा, स्थानीय भाषा र एआई, मानव स्रोतको विकास र डिजिटल अर्थतन्त्रबारे म्याचमेकिङ सेसनमा अध्यक्ष गैरेले प्रस्तुति दिएका थिए ।
चीनस्थित एम्बासडर रिसिप्सनले समन्वय गरेको सोही कार्यक्रममा चीनका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनालले नीतिगत कठिनाइहरूको सम्बोधन र एफडीआईमार्फत नेपालमा लगानी गर्न चाहने चिनियाँ व्यवसायीलाई गर्ने सहजीकरणबारे जानकारी गराए ।
नेपालको पछिल्लो तथ्यांकमा चीन नेपालमा एफडीआईमार्फत सबैभन्दा बढी लगानी गर्ने देश भएको उनको भनाइ छ । नेपालमा लगानीको अवसर तथा नीतिगत व्यवस्थाबारे दूतावासको आर्थिक मामिला हेर्ने प्रमुख पार्वती अर्यालले लगानी सहजीकरणबारे प्रस्तुति दिएकी थिइन् । यससँगै, एफएनसीसीआई, निर्यात व्यवसायी महासंघ लगायतका संस्थाहरूले ऊर्जा, पर्यटन, निर्यात उद्यम, कृषि, स्वास्थ्य क्षेत्रलगायत विभिन्न व्यवसायकोबारेमा प्रस्तुति र बिटुवी म्याचमेकिङ कार्यक्रममा सहभागी भएका थिए ।
क्याटेगोरी : अर्थ, समाचार













प्रतिक्रिया