नेपालीलाई तत्काल थप उपचारका लागि भारत नलगिने
काठमाडौं । राहदानी विभागअघि आत्मदाह प्रयासका क्रममा गम्भिर घाइते भएका मुगुका गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत लैजाने कार्यक्रम स्थगन भएको छ । स्वास्थ्य अवस्था अस्थिर भएका कारण बाहिर लैजाँदा थप जोखिम हुने चिकित्सकको सल्लाहपछि उनलाई भारत लैजाने निर्णयबाट सरकार पछि हटेको हो ।
वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका नेपालीको उपचारमा संलग्न चिकित्सकहरूले सुरूमा दिएको सुझाव अनुसार सरकारले भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी गरेको थियो । पछिल्लो समय उनको स्वास्थ्य अवस्था थप जटिल बनेको अवस्थामा बाहिर लग्दा थप जोखिम निम्तने सल्लाह चिकित्सकले दिएपछि तत्काल भारत लग्ने निर्णय परिवर्तन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उनलाई रातिनै विमानस्थल पुर्याउन गृहमन्त्री सुधन गुरुङ आफैँ खटिएका थिए । एयर एम्बुलेन्ससहित सबै बन्दोबस्त समेत गरिएको थियो। बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका गणेशको शरीरको माथिल्लो अधिकांश भाग जलेको छ ।
हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको टोली उनको उपचारमा खटिएका छन् ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया