Techie IT
KTM Post
शुक्रबार, २६ असार, २०८३

दैनिक ५२० रुपैयाँमै एमजी कोमेट ईभी, जी.ओ. अटोमोबाइल्सको नयाँ ईएमआई योजना


काठमाडौं । गोल्छा अर्गनाइजेसनअन्तर्गतको जी.ओ. अटोमोबाइल्स प्रालिले एमजी कोमेट ईभी (MG Comet EV) खरिदकर्ताका लागि नयाँ दैनिक ईएमआई योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार अब ग्राहकले दैनिक ५२० रुपैयाँ अर्थात् मासिक १५ हजार ५३५ रुपैयाँ किस्तामा यो विद्युतीय कार खरिद गर्न सक्नेछन्।

कम्पनीले सार्वजनिक गरेको योजनाअनुसार उक्त किस्ता रकम दैनिक ट्याक्सी प्रयोग वा व्यक्तिगत चालक राख्दा लाग्ने खर्चभन्दा कम पर्ने दाबी गरिएको छ।

जी.ओ. अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले विद्युतीय सवारीसाधनलाई महँगो लगानीको रूपमा नभई दैनिक जीवनको सहज विकल्पका रूपमा स्थापित गर्ने उद्देश्यले योजना ल्याइएको बताए। उनका अनुसार सहज किस्ता व्यवस्थाले धेरै ग्राहकलाई विद्युतीय सवारी खरिदतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।एमजी कोमेट ईभीको प्रारम्भिक मूल्य १८ लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ। सहरी यात्रालाई लक्षित गरी डिजाइन गरिएको यो कम्प्याक्ट ह्याचब्याकमा चार जना यात्रु सहज रूपमा यात्रा गर्न सक्ने व्यवस्था छ।

गाडीमा १७.३ किलोवाट–घण्टा (kWh) क्षमताको ब्याट्री र पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ। कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा एआरएआई (ARAI) मापदण्डअनुसार यसले अधिकतम २३० किलोमिटरसम्म यात्रा गर्न सक्छ।

सहरी क्षेत्रमा बढ्दो सवारी चाप, साँघुरा सडक र इन्धन खर्चलाई मध्यनजर गर्दै एमजी कोमेट ईभीलाई दैनिक आवतजावतका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

नयाँ ईएमआई योजनामार्फत विद्युतीय सवारी खरिदलाई थप पहुँचयोग्य बनाउने र ग्राहकलाई आफ्नै बजेटभित्र इभी प्रयोग गर्ने अवसर उपलब्ध गराउने कम्पनीको विश्वास छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट