बजारमा महँगीले आकाश छोयो, उपभोक्ताको चुलो बल्न मुस्किल
काठमाडौं । पछिल्लो समय बजारमा अचाक्ली मूल्यवृद्धिका कारण उपभोक्ता मारमा परेका छन् । मूल्यवृद्धिको असर जनताको भान्सादेखि बजारसम्म देखिएको छ । दैनिक उपभोग्य वस्तुदेखि निर्माणका सामग्रीहरूको मूल्य छोइसक्नु छैन । बालेन साहको नेतृत्वमा रास्वपाको दुईतिहाइको सरकार निर्माण भएपछि सरकारले दुई पटक सार्वजनिक यातायातको भाडा बढाएको छ ।
बुधबार मात्रै सरकारले सार्वजनिक यातायातको भाडा पाँच प्रतिशत बढाएको छ । भाडा बढेसँगै बजारमा मूल्यवृद्धि अझै चर्किने सम्भावना छ । अहिले बजारमा दैनिक उपभोग्य सामग्रीका साथै ग्यास, चामल, तरकारी, तेल, चिनी लगायतका वस्तुको मूल्य आकाशिएको छ ।
पछिल्लो एक वर्ष अवधिमा तरकारी र फलफूलको मूल्यमा अचाक्ली वृद्धि भएको छ । एक वर्षको अवधिमा भान्सामा दैनिक प्रयोग हुने हरियो तरकारीको मूल्य शतप्रतिशतभन्दा बढीले उकालो लागेको तथ्यांकले देखाएको छ । विशेषगरी काउली, बन्दा र भन्टाजस्ता तरकारीको भाउले आकाश छुँदा सर्वसाधारणको भान्साको बजेट नराम्ररी प्रभावित भएको छ । बजार तथ्यांकअनुसार सबैभन्दा बढी मूल्यवृद्धि स्थानीय काउलीमा देखिएको छ । अघिल्लो वर्ष प्रतिकिलो २५ रुपैयाँमा पाइने यो काउली यस वर्ष १८० प्रतिशत बढेर ७० रुपैयाँ पुगेको छ ।
त्यसैगरी सामान्य स्थानीय काउलीको मूल्य पनि ठ्याक्कै दोब्बर अर्थात् शतप्रतिशत बढेर २५ बाट ५० रुपैयाँ पुगेको छ । हिउँदे तरकारीका रूपमा चिनिने लोकल बन्दाको मूल्यले पनि उपभोक्तालाई निराश बनाएको छ । गत वर्ष १२ रुपैयाँ ३३ पैसा प्रतिकिलोमा पाइने बन्दा अहिले १६३.५८ प्रतिशत महँगिएर ३२ रुपैयाँ ५० पैसा पुगेको छ ।
यस्तै, भन्टाको मूल्यमा पनि अस्वाभाविक वृद्धि देखिएको छ । डल्लो भन्टाको मूल्य अघिल्लो वर्ष ३५ बाट ११४.२९ प्रतिशत बढेर ७५ रुपैयाँ पुगेको छ भने लाम्चो भन्टा ८३.३३ प्रतिशत बढेर ५५ रुपैयाँ पुगेको छ ।
तरकारी मात्र नभई गेडागुडी तथा कोसेयुक्त तरकारीको भाउ पनि उस्तै आकाशिएको छ । राजमा (घिउसिमी) को मूल्य प्रतिकिलो ७५ बाट बढेर १ सय २० रुपैयाँ पुगेको छ भने तने बोडी ५७.१४ प्रतिशत बढेर १ सय १० रुपैयाँ पुगेको छ । भिन्डी पनि प्रतिकिलो ६५ बाट १ सय २ रुपैयाँ ५० पैसा पुगेको छ ।
भान्सामा दैनिक स्वाद बढाउन प्रयोग गरिने हरियो लसुन र हरियो खुर्सानीको मूल्यले पनि उपभोक्ताको ढाड सेकेको छ । हरियो लसुन ५७.५८ प्रतिशत र हरियो खुर्सानी ५० प्रतिशतभन्दा बढीले महँगिएको छ । फलफूलतर्फ हेर्दा केराको मूल्यमा अचाक्ली वृद्धि देखिएको छ । अघिल्लो वर्ष प्रतिदर्जन १ सय ५० रुपैयाँमा पाइने केरा अहिले ५० प्रतिशत बढेर २ सय ५० देखि ३०० रुपैयाँसम्म पुगेको छ ।
मध्यपूर्वमा भइरहेको तनावका कारण मूल्यवृद्धि भएको भन्दै सरकार पन्छिँदै आएको छ । मूल्यवृद्धि बढ्दै जाँदा भुइँमान्छेको चुलो नै निभ्ने अवस्था सिर्जना भएको छ । यसलाई रोक्न सरकारले कदम चाल्नु जरुरी छ ।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया