दिल्लीमा कुमार बेन र अजित डोभालबिच भेटवार्ता, प्रधानमन्त्री शाहलाई भारत भ्रमण गराउने कसरत
काठमाडौं ।प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणको तयारीका क्रममा उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले भारतको राजधानी नयाँ दिल्लीमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेको खुलेको छ।प्रधानमन्त्री कार्यालय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्रोतका अनुसार जुलाईको पहिलो साता बेन, आफूनिकट रोशन खड्कासहित दिल्ली पुगेका थिए। भ्रमणका क्रममा उनले डोभालसँग प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमण, दुई देशबीचको सम्बन्ध तथा नयाँ सरकारको प्राथमिकताबारे छलफल गरेका थिए। भारतको विदेश मन्त्रालयका केही उच्च अधिकारीसँग पनि उनको भेट भएको स्रोतले जनाएको छ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल र रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा नयाँ सरकारका नीति र प्राथमिकताबारे भारतीय पक्षलाई जानकारी गराइसकेकाले बेनको भ्रमण मुख्यतः प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको तयारीमा केन्द्रित रहेको बताइएको छ।स्रोतका अनुसार भेटमा प्रधानमन्त्री शाहको छिमेक नीति, द्विपक्षीय सहकार्य र भ्रमणका सम्भावित एजेन्डाबारे छलफल भएको थियो। भ्रमणको मिति तय नभए पनि तयारीलाई अघि बढाउने समझदारी बनेको बताइएको छ।
प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार भारतीय पक्षले प्रधानमन्त्री शाहलाई सकेसम्म चाँडै भारत भ्रमण गराउन इच्छुक रहेको संकेत दिएको छ। नयाँ जनादेशसहित सरकारको नेतृत्व सम्हालेका युवा प्रधानमन्त्रीको प्रारम्भिक भ्रमणलाई भारतले महत्वका साथ हेरेको स्रोतको दाबी छ।दिल्ली बसाइका क्रममा बेनले विदेश मन्त्रालयका अधिकारी तथा अन्य सरकारी प्रतिनिधिसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेको बताइएको छ। भारतको नेपाल नीति निर्माणमा प्रभावशाली मानिने राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगी हुन्।
यसअघि प्रधानमन्त्री शाहले काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल भ्रमणमा आउन लागेका भारतीय विदेश सचिव विक्रम मिश्रीसँग भेटका लागि समय नदिएपछि दुवै देशबीचको कूटनीतिक संवाद सुस्त बनेको चर्चा चलेको थियो। त्यसपछि रास्वपा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणलाई सम्बन्ध सुधारको प्रयासका रूपमा हेरिएको थियो।स्रोतका अनुसार दिल्लीबाट फर्किएपछि कुमार बेनले प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेलाई भारतमा भएका छलफलबारे ब्रिफिङ गरेका छन्। त्यसपछि प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच एक्लाएक्लै भेटवार्ताको तयारीसमेत अघि बढेको बताइएको छ।
परराष्ट्र मन्त्रालय निकट स्रोतका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमण सेप्टेम्बरअघि नै हुन सक्ने सम्भावना रहेको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जानुअघि भारत भ्रमण गराउने विषयमा दुवै पक्षबीच कूटनीतिक तयारी भइरहेको बताइएको छ।
यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि साउन महिनाभित्र नेपाल भ्रमणमा आउन सक्ने चर्चा कूटनीतिक वृत्तमा चलिरहेको छ। पशुपतिनाथ मन्दिरमा पूजा तथा लुम्बिनी भ्रमणसमेत सम्भावित कार्यक्रमका रूपमा छलफलमा रहेको स्रोतहरूको दाबी छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया