विश्वकप लिग-२: नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपाल शीर्ष चारको दौडमा थप पछाडि
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटको हार बेहोरेपछि नेपालको शीर्ष चारमा रहेर सोझै विश्वकप छनोट चरणमा पुग्ने सम्भावना थप कमजोर बनेको छ। लगातार दोस्रो खेलमा पनि नेपाली टोली १ सय ५७ रनमै समेटिँदा ब्याटिङ लाइनअप फेरि एकपटक असफल देखियो।
बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५७ रनमा सीमित भयो। कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३० र गुल्सनकुमार झाले २० रन जोडे।करण केसीले १८, आसिफ शेखले १६ तथा सोमपाल कामीले १५ रनको योगदान दिए पनि कुनै पनि ब्याटरले लामो इनिङ्स खेल्न सकेनन्। सुरुआतलाई ठूलो स्कोरमा रूपान्तरण गर्न नसक्नु र मध्यक्रम लगातार विफल हुनु नेपालको कमजोर पक्ष बन्यो।
१ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेट गुमाउँदै सहज जित निकाल्यो। कप्तान स्कट इडवार्डसको संयमित इनिङ्सले टोलीलाई लक्ष्यसम्म पुर्यायो। नेपाली बलरहरूले सुरुआती विकेट लिन नसक्दा तथा फिल्डिङमा पनि अपेक्षित प्रदर्शन गर्न नसक्दा डच टोलीले खेलभरि नियन्त्रण कायम राख्यो।
नेपालले यसअघि मंगलबार नामिबियासँग पनि ६ विकेटकै हार बेहोरेको थियो। उक्त खेलमा पनि नेपाल १ सय ५७ रनमै समेटिएको थियो। १ सय ५८ रनको लक्ष्य पछ्याएको नामिबियाले ३७.४ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो। त्यस खेलमा कप्तान जान फ्राइलिंकले अविजित ७८ तथा माइकल भान लिंगनले ५१ रन बनाएका थिए।
लगातार दुई हारपछि नेपालको शीर्ष चारमा पुग्ने लक्ष्य थप कठिन बनेको छ। हाल नेपाल ३० खेलबाट २४ अंकसहित अंक तालिकाको पाँचौँ स्थानमा रहेको छ। नेदरल्यान्ड्स भने २९ खेलबाट ३४ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ।
अब बाँकी खेलमा लगातार सकारात्मक नतिजा निकाल्न नसके नेपालका लागि सोझै विश्वकप छनोटमा स्थान बनाउने सम्भावना झन् कठिन बन्ने देखिएको छ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया