जिनेदिन जिदान फ्रान्सको नयाँ प्रशिक्षक
काठमाडौं । फ्रान्सले पूर्वकप्तान जिनेदिने जिदानलाई पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
मंगलबार फ्रेन्च फुटबल संघ र जिदानबीच ६ वर्षका लागि सम्झौता भएको हो । जिदान सन् २०२१ पछि प्रशिक्षण जिम्मेवारीमा फर्किन थालेका हुन् ।
जिदानले डिडियर डेसच्याम्पको स्थान लिने छन् । सन् २०१२ मा प्रशिक्षकको जिम्मेवारी पाएका डेसच्याम्पले हालै सम्पन्न फिफा विश्वकप–२०२६ पछि टोली छाडेका हुन् ।
फ्रान्सले सन् १९९८ मा विश्वकप र २००० मा युरोपियन च्याम्पियनसिपको उपाधि जित्दा जिदान प्रमुख सदस्य थिए । यसैगरी, जिदानको कप्तानीमा फ्रान्सले २००६ को विश्वकप फाइनल खेलेको थियो ।
जिदानले यसअघि स्पेनिस क्लब रियाल मड्रिडको टचलाइन सम्हालिसकेका छन् । सन् २०१६ देखि २०१८ सम्म आफ्नो पहिलो स्पेलमा उनले रियाललाई लगातार तीन यूईएफए च्याम्पियन्स लिग तथा एक स्पेनिस ला लिगाको उपाधि दिलाएका थिए ।
यस्तै, जिदानले सन् २०१९ देखि २०२१ सम्म दोस्रोपटक रियालको जिम्मेवारी सम्हाले यो अवधिमा टोलीले ला लिगा उपाधि जितेको थियो ।
फ्रेन्च फुटबल संघले केही दिनमै जिदानलाई आधिकारिक रूपमा सार्वजनिक गर्ने बताएको छ ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया