Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

सुकुमवासी मुद्दामा बालेनमाथि शंकर पोखरेलको कटाक्ष, ‘ज्ञ’ क्रान्तिको खाका माग


नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई विस्थापित सुकुमवासीका लागि ‘ज्ञ’ क्रान्तिको स्पष्ट खाका ल्याउन आग्रह गरेका छन् ।

शुक्रबार बुद्ध जयन्तीका अवसरमा प्रम शाहले ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’ भन्ने आशयको सामाजिक सञ्जाल स्टाटस सार्वजनिक गरेका थिए । तर, त्यही समयमा प्रमकाे निर्देशनमा सुकुमवासी बस्तीहरूमा डोजर चलाइएको घटनाले विवाद चर्किएको छ ।

यसै सन्दर्भमा महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत कटाक्ष गर्दै सरकारको कदममाथि प्रश्न उठाएका हुन् । उनले विस्थापित नागरिकहरूको अवस्थाप्रति गम्भीर ध्यान दिन आग्रह गर्दै स्पष्ट योजना र समयमै पुनःस्थापनाको आवश्यकता औंल्याएका छन् ।

पोखरेलले आफ्नो स्टाटसमा लेखेका छन्, “वास्तविक क्रान्ति ‘ज्ञ’ (ज्ञान) बाट सुरु हुन्छ भन्ने प्रधानमन्त्रीले आजको संकटमा कस्तो क्रान्तिकारी कदम चाल्दै हुनुहुन्छ ? प्रभावित तथा असुरक्षित महसुस गरिरहेका सुकुमवासी नागरिकलाई स्पष्ट योजनाका साथ समयमै आश्वस्त पार्नुपर्ने हैन र ?”

उनले २०७५ सालमा बारा–पर्सामा आएको भीषण आँधीपछि सरकारले छिटो पुनःस्थापना गरेको उदाहरण स्मरण गर्दै अहिलेको अवस्थासँग तुलना गरेका छन् । त्यसबेला छोटो समयमै आवास निर्माण गरी प्रभावितलाई पुनःस्थापित गरिएको उल्लेख गर्दै उनले अहिले भने सरकारकै कदमले हजारौँ नागरिक घरवारविहीन बनेको टिप्पणी गरेका छन् ।

पोखरेलले बर्षा हुनुअघि नै पुनःस्थापना नभए गम्भीर मानवीय संकट निम्तिने चेतावनी दिएका छन् । अस्थायी बसोबासको दयनीय अवस्था र त्यहाँका वास्तविकता सार्वजनिक हुन नदिइएको आरोपसमेत उनले लगाएका छन् ।

अन्त्यमा उनले सरकारलाई मानवता, मानवीय जिम्मेवारी र दीगो समाधानतर्फ गम्भीर बन्न आग्रह गरेका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट