सरकारी निकायमा नेतृत्व चयन प्रक्रिया सुरु : सहकारी नियमन प्राधिकरण र दूरसञ्चार प्राधिकरणमा आवेदन खुला
काठमाडौं । सरकारले दुई महत्वपूर्ण नियामक निकायमा नेतृत्व चयन प्रक्रिया अघि बढाएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणका रिक्त पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको हो ।
सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउने उद्देश्यले गठन गरिएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष र विज्ञ सदस्य पदका लागि आवेदन खुला गरिएको छ । सहकारी ऐन, २०७४ अनुसार गठित सिफारिस समितिले योग्य उम्मेदवारबाट दरखास्त माग गरेको हो ।
सूचनाअनुसार अध्यक्ष तथा विज्ञ सदस्य पदका उम्मेदवारले अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । अध्यक्ष पदका लागि नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) वा सो सरहको पदमा कार्य गरेको अनुभव अथवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक, वित्तीय संस्था वा सहकारी क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव आवश्यक पर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, विज्ञ सदस्यका लागि सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको कार्य अनुभव हुनुपर्नेछ । उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म ६० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ । इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र, अर्थात् २०८३ जेठ ९ गतेसम्म ललितपुरको पुल्चोकस्थित प्राधिकरणको कार्यालयमा आवेदन दिन सक्नेछन् ।
यता, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष र चार सदस्य पदका लागि पनि आवेदन खुला गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको जनाएको हो ।
मन्त्रालयका अनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले २०८३ जेठ ५ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । आवश्यक योग्यता, दरखास्त फाराम तथा अन्य विवरण मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख गरिएको छ ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया