अस्ट्रेलियाले लगायो नेपाली गुन्द्रुक र कोदो आयातमा प्रतिबन्ध
काठमाडौं । अस्ट्रेलियाले नेपालबाट निर्यात हुने गुन्द्रुक, कोदो, भटमास लगायत खाद्य सामग्री आयातमा कडाइ गर्दै तत्कालका लागि रोक लगाएको छ ।
नेपालबाट निर्यात गरिएका यस्ता सामग्रीमा किरा भेटिएको र उपचार प्रक्रिया (विषादीकरण) मा प्रयोग गरिएका कागजातहरू शंकास्पद पाइएपछि अस्ट्रेलियाको नेसनल प्लान्ट प्रोटेक्सन अर्गनाइजेसन (एनपीपीओ) ले नेपाली कृषि उपजमा प्रतिबन्ध लगाएको हो ।
प्राविधिक कमजोरीका कारण निर्यातमा गम्भीर अवरोध सिर्जना भएको छ । अन्तर्राष्ट्रिय नियम अनुसार जुन देशमा खाद्य सामग्रीको उपचार (फ्युमिगेसन ट्रिटमेन्ट) गरिन्छ, सोही देशले स्वास्थ्यताको प्रमाणपत्र जारी गर्नुपर्छ ।
नेपालमा अस्ट्रेलियाले तोकेको मापदण्ड अनुसारको उपचार गर्ने प्रविधि नभएका कारण सन् २०२१ देखि नेपाली सामग्रीहरू भारतको कोलकाता पठाएर त्यहाँ उपचार गरी नेपालबाटै प्रमाणपत्र जारी गरेर पठाइने गरिएको थियो ।
तर, पछिल्लो समय यस प्रक्रियामा गम्भीर लापरबाही र बदमासी भेटिएको जनाइएको छ । स्ट्रेलियाको नेसनल प्लान्ट प्रोटेक्सन अर्गनाइजेसनले आधिकारिक इमेल पठाउँदै नेपालको प्रमाणपत्रमा विश्वास गर्न नसकिने जनाएको छ ।
पछिल्लो समय पठाइएका सामग्रीमा किरासमेत भेटिएपछि अस्ट्रेलियाले नेपाली अधिकारीहरूलाई सचेत गराउँदै आयात रोकेको हो ।
अस्ट्रेलियाले हाल नेपाललाई दुई वटा विकल्प दिएको छ । पहिलो, नेपालले आफ्नै भूमिमा अस्ट्रेलियाले तोकेको मापदण्ड र मेसिन प्रयोग गरेर सामानको उपचार गर्नुपर्ने छ ।
दोस्रो, यदि तेस्रो मुलुक (भारत) मा उपचार गराउने हो भने भारतीय सरकारी निकायले नै त्यसको शतप्रतिशत जिम्मेवारी लिएर रि–एक्स्पोर्ट फाइटोस्यानिटरी सर्टिफिकेट जारी गर्नुपर्ने छ ।
हालको अवस्थामा नेपालका अधिकारीहरू कोलकाता गएर प्रत्येक कन्टेनर अनुगमन गर्न सक्ने अवस्थामा छैनन् र भारतीय पक्षले पनि नेपालका लागि यस्तो ग्यारेन्टी लिन नमानेको जनाइएको छ ।
नेपाल र अस्ट्रेलियाबीचको वैदेशिक व्यापारमा नेपालले ठूलो व्यापार घाटा बेहोर्नु परिरहेको छ । पछिल्लो ९–१० महिनाको तथ्यांक अनुसार नेपालले अस्ट्रेलियामा करिब १ अर्ब ५० करोड रुपैयाँ बराबरको खाद्यान्न निर्यात गर्दा सोही अवधिमा अस्ट्रेलियाबाट भने करिब १० अर्ब रुपैयाँ बराबरको सामान नेपाल भित्रिएको छ ।
तथ्यांक विश्लेषण गर्दा अस्ट्रेलियासँगको व्यापारमा नेपाल अहिले नै झन्डै ९ अर्ब रुपैयाँ घाटामा छ ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया