त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगलागी, यात्रुको आकस्मिक उद्धार
काठमाडौं । इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टायर पड्किएपछि आगलागी भएको छ । घटनापछि विमानमा सवार यात्रुहरूको आकस्मिक उद्धार गरिएको छ ।
प्रारम्भिक जानकारीअनुसार अवतरणका क्रममा विमानको एउटा टायर विस्फोट भएको थियो । टायर फुटेलगत्तै पाङ्ग्राको भाग तथा इन्जिन नजिकबाट आगो र धुवाँ निस्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
विमानस्थल नजिक रहेका पाइलट बेद उप्रेतीका अनुसार टायर विस्फोटपछि विमानको तल्लो भागबाट धुवाँसहित आगो देखिएको थियो । त्यसपछि चालक दल र विमानस्थल प्रशासनले उच्च सतर्कता अपनाउँदै यात्रुहरूलाई ‘इमर्जेन्सी स्लाइड’ प्रयोग गरेर सुरक्षित रूपमा बाहिर निकालेका हुन् ।
घटनापछि केही समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र तनावग्रस्त बनेको थियो । विमानस्थलको उद्धार तथा अग्नि नियन्त्रण टोली तत्काल परिचालन गरिएको थियो । आगलागी नियन्त्रणमा आएपछि विमानलाई सुरक्षित क्षेत्रमा सार्ने प्रयास गरिएको जनाइएको छ ।
हालसम्म मानवीय क्षतिको कुनै जानकारी प्राप्त भएको छैन । विमानमा सवार सबै यात्रु सुरक्षित रहेको विमानस्थल स्रोतले जनाएको छ । घटनाको कारणबारे प्राविधिक अनुसन्धान सुरु गरिएको छ भने विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया