संघीय संसदको अधिवेशन आजदेखि, सरकारको नीति तथा कार्यक्रम आजै प्रस्तुत
संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेकाअनुसार आज दिउसो २ वजे संसदको बैठक बस्नेछ । संघीय संसद्को बजेट अधिवेशन आजैदेखि सुरु हुन लागेको हो । बैठकका निम्ति विभिन्न सम्भावित कार्यसूची तय गरिएको छ ।
बैठकमा प्रधानमन्त्री बालेनले ‘सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ । उनले नै ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण तेस्रो संशोधन अध्यादेश, २०८३’ पेस गर्नेछन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले ‘सहकारी ९पहिलो संशोधन० अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्नेछिन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। त्यसका लागि संघीय संसद्का सदस्यहरुलाई ३ः४५ बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधिसभा कक्ष बहुउद्देश्यीय कक्ष, सिंहदरबारमा उपस्थित हुनका लागि आग्रह गरिएको छ। उक्त धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ।
क्याटेगोरी : राजनीति, समाचार










प्रतिक्रिया