वीर अस्पतालमा मन्त्रीको झाडु, सुरु भयो ‘राष्ट्रिय सरसफाइ सप्ताह’
काठमाडौं । प्रशासनिक सेवालाई स्वच्छ, मर्यादित र वातावरणमैत्री बनाउने नयाँ सङ्कल्पका साथ आजदेखि देशभर राष्ट्रिय सरसफाइ सप्ताह सुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताले वीर अस्पतालमा आयोजित सरसफाइ कार्यक्रममा सरिक भएर यस अभियानको औपचारिक उद्घाटन गरेकी छिन् । सरकारले आजदेखि जेठ १ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयहरूमा यो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ । सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ अनुसार न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ ।

सरकारी कार्यालयहरूमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह तथा कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो कदम चालिएको हो । मार्गदर्शनको पृष्ठभूमिमा ‘सरकारी निकायहरूमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रभावकारी सरसफाइ व्यवस्थापन आवश्यक छ’ भनी उल्लेख गरिएको छ ।
मार्गदर्शनअनुसार अब सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र सङ्केत चिह्नहरूलाई स्पष्ट र व्यवस्थित बनाइनेछ भने चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रङ्गरोगन गरिनेछ । विशेषगरी मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक र सफा राखिने योजना छ ।
शौचालयहरूलाई दुर्गन्धरहित बनाउँदै नियमित पानीको व्यवस्था र हात धुने स्थानमा साबुन अनिवार्य गरिएको छ । शौचालयहरू महिलामैत्री र ‘स्यानिटरी डिस्पोजल’ सुविधायुक्त हुनुपर्ने तथा दैनिक सफाइको अभिलेख राख्नुपर्ने नियम बनाइएको छ ।
फोहोर व्यवस्थापनका लागि कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्नेछ । पुराना काम नलाग्ने सामानहरूको उचित व्यवस्थापन गरिनुका साथै खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।

कार्यालय परिसरको १०० मिटर वरिपरिको क्षेत्र, नाली र ढलहरू सफा राख्नुपर्ने तथा अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने सूचक निर्धारण गरिएको छ । सेवाग्राहीले सम्मानित महसुस गर्ने वातावरण बनाउन ‘हेल्प डेस्क’ को व्यवस्था र सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ ।
यस अभियानलाई दिगो बनाउन प्रत्येक निकायले एक ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्ने व्यवस्था गरिएको छ । प्रत्येक हप्ताको सरसफाइ कार्यतालिका निर्माण गरी मासिक रूपमा स्व–मूल्याङ्कन गर्नुपर्ने प्रावधान मार्गदर्शनमा छ । अभियानको कार्यान्वयन र अनुगमनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायका प्रमुखलाई सुम्पिएको छ । यो अभियानले सबै सङ्घीय, प्रादेशिक र स्थानीय कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थाहरूलाई समेत समेट्नेछ ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया