Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

कांग्रेस सचेतक राईको प्रश्न : भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने प्रयास किन ?


नेपाली कांग्रेसका सचेतक निश्कल राईले संसद छलेर अध्यादेशको बाटो किन समातेको भनेर सरकारलाई प्रश्न गरेको छ । सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राईले सो प्रश्न गरेका हुन् । उनले भने– ‘सरकारले किन संसदलाई छोडेर अध्यादेशको बाटो समात्यो ? अन्य विषय बहस गर्दै गरौँला, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा ६ जना सदस्यमध्येमा ३ जनाको उपस्थिति हुँदा कसरी बहुमत पुग्छ ? ।’

उनले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीप्रति आपत्ती जनाए । उनले भने – ‘नियमावलीको नियम ४७ को उपनियम ३ मा भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने प्रयास किन ? संसद् संविधान र कानुनभन्दा माथि कसरी हुन सक्छ ? इलामका जनताले मलाई बेदाग प्रतिनिधिको रूपमा यहाँ पठाएका छन्। म दाग बोकेर फर्कन चाहन्न। त्यसैले नियमावलीको विवादित प्रावधानहरू भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३(१), अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ सँग बाझिएका छन्।’ उनले भने – ‘नियमावलीमा विवादित ऐनहरू बाझिएका छन् । अन्य कानुनले छुनै नसक्ने कसरी हुन्छ ? नियम टेवल नगरेर समितिमा पठाइयोस् । पुनर्लेखन गरेर ल्याइयोस् ।’

सचेतक निश्कल राईले सरकारले शहर सुन्दर बनाउने नाममा नागरिकको भरोसा भत्काएको बताए । नागरिकको पीडाका अगाडि अरु कुरा गौण हुने उनले बताए । उनले भने – ‘सरकारले शहर सुन्दर बनाउने नाममा डोजर चलायो । नागरिकको भरोसा भत्कायो । नागरिकको पीडाभन्दा ठूलो शहरको सुन्दरता हो ? राज्यले नागरिकको केही दिनको सुत्केरीलाई समेत अन्याय गर्‍यो । राज्यले मातृत्वको सम्मान गरेन । नागरिकको ज्यानसमेत गएको छ ।’

 

 


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट