कांग्रेसले माग्यो पूर्णबहादुर खड्कासँग ७ दिनभित्र स्पष्टीकरण
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग ७ दिनभित्र स्पष्टीकरण मागेको छ । पार्टीको लेटरप्याड दुरुपयोग गरी अनधिकृत विज्ञप्ति जारी गरेको आरोपबारे बुधबार बसेको समितिको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
कांग्रेसभित्र देखिएको पछिल्लो विवाद अनुसार खड्काले पार्टीको आधिकारिक लेटरप्याड प्रयोग गरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउबारे विज्ञप्ति जारी गरेका थिए । उक्त विज्ञप्ति पार्टीको आधिकारिक निर्णयविपरीत भएको भन्दै विवाद उत्पन्न भएको थियो ।
यसअघि १८ चैतमा बसेको अनुशासन समितिको बैठकले खड्कालाई कार्यवाहक सभापतिको हैसियतमा एकलौटी रूपमा कुनै पनि विज्ञप्ति जारी नगर्न सचेत गराएको थियो । तर त्यसपछि पनि उनले पुनः कार्यवाहक सभापतिको हैसियतमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्णयविरुद्ध विज्ञप्ति जारी गरेको आरोप लागेको छ ।
पार्टी स्रोतका अनुसार उक्त गतिविधिपछि कांग्रेस केन्द्रीय अनुशासन समितिले पुनः आपतकालीन बैठक बोलाएको थियो । बुधबार बसेको बैठकले खड्कासँग स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
समितिका एक सदस्यका अनुसार तत्काल कडा कारबाही गर्ने वा थप सचेत गराउने विषयमा अन्तिम निष्कर्ष भने भएको छैन । उनले भने, ‘अहिले नै ठोस निर्णय भइसकेको छैन । बैठकमा छलफल जारी छ । तर केही न केही निर्णय भने अवश्य हुन्छ ।’
यसैबीच, खड्काले गत चैत १७ देखि १९ गतेसम्म कार्यवाहक सभापतिको हैसियतमा नवनिर्वाचित सांसदलाई बधाई दिने तथा आफ्ना निकट केन्द्रीय सदस्यहरूसँग परामर्श गर्ने गतिविधि गरेको समेत आरोप छ । पार्टीभित्र यसले नेतृत्व तहको अधिकार र सीमाबारे थप बहस सुरु गराएको छ ।
अनुशासन समितिको पछिल्लो कदमसँगै कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको देखिएको छ ।

क्याटेगोरी : राजनीति










प्रतिक्रिया