Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

बाबुरामकाे एक्लोपन


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा माओवादी आन्दोलनका प्रमुख वैचारिक नेतामध्येका एक बाबुराम भट्टराईलाई अहिले राजनीतिक एक्लाेपन भएकाे छ । गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका उनले अन्ततः उम्मेदवारी फिर्ता लिएसँगै उनको राजनीतिक भविष्य र भूमिकाबारे नयाँ बहस सुरु भएको थियाे ।

प्रगतिशील लाेकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट उम्मेदवारी दर्ता गरेका भट्टराईले वैशाख ९ गते आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । उनले “पार्टीको नेता वा सांसदभन्दा अभिभावकीय भूमिका प्रभावकारी हुने” भन्दै चुनावी प्रतिस्पर्धाबाट पछि हटेको बताएका थिए ।

गोरखा–२ मा यसपटक उनको मुख्य रणनीति नयाँ शक्तिहरूसँग सहकार्य गर्ने थियो । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीसँग तालमेलको प्रयास भएको राजनीतिकवृत्तमा चर्चा थियो । गोरखा–२ मा आफू र १ मा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी उठ्ने समझदारी बनेकाेमा गोरखा–१ मा रास्वपाका अर्का नेता सुधन गुरुङ उठेपछि समझदारी ताेडियाेे । त्यसपछि भट्टराईले प्रचण्डसँग पनि समन्वयको प्रयास गरेको बताइन्छ । रूकुमबाट प्रचण्डलाई समर्थन दिएर आफ्ना पार्टीका सन्दीप पुनकाे उम्मेदवारी फिर्ता लिने र यता गाेरखाबाट प्रचण्ड पार्टीका लेखनाथ न्याैपानेकाे उम्मेदवारी फिर्ता लिएर बाबुराम भट्टराईलाई समर्थन गर्ने । तर, यसमा जनार्दन शर्माले सन्दीप पुनकाे उम्मेदवारी फिर्ता लिन नसकिने बताएपछि प्रचण्ड र बाबुरामकाे समझदारी पनि तुहियाे ।

राजनीतिक रूपमा एक समय गोरखामा अत्यन्त प्रभावशाली मानिएका भट्टराईको आधार भने अहिले कमजोर बन्दै गएको देखिन्छ । २०६४ सालको संविधानसभा निर्वाचनमा उनले गोरखा–२ बाट करिब ८३ प्रतिशत मत ल्याएर ऐतिहासिक विजय हासिल गरेका थिए । २०७४ सालमा पनि नेपाली कांग्रेससँगको गठबन्धनबाट उनी निर्वाचित भएका थिए । तर अहिलेको अवस्थामा पुराना समर्थकहरू धेरैजसो अन्य दलमा गइसकेका छन। उम्मेदवारी फिर्तासँगै उनले पार्टीको संरक्षक भूमिकाबाट पनि अलग रहने बताए । उनले आफू अब प्रत्यक्ष सांगठनिक जिम्मेवारीभन्दा बाहिर रहेर “प्रगतिशील शक्तिहरूलाई सघाउने” भूमिकामा रहने बताएका थिए ।

नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका भट्टराई पछिल्लो दशकमा भने निरन्तर ओरालाे यात्रामा छन् । माओवादी केन्द्रबाट अलग भएर नयाँ शक्ति अभियान चलाएका उनले पछि विभिन्न वैकल्पिक राजनीतिक प्रयोग गरे पनि ती सफल हुन सकेनन् ।

वैचारिक रूपमा प्रभावशाली र बौद्धिक नेताका रूपमा स्थापित भए पनि संगठन निर्माण, राजनीतिक मुद्दा र जनमतलाई लामो समय टिकाइराख्न नसक्नु उनको सबैभन्दा ठूलो चुनौती बनेको देखिन्छ । अहिले प्रलाेपाबाट उनलाई विदाइ गरेकाे भनेपछि अध्यक्ष सन्ताेष परियारलाई °कीर्ते र ठगी´ गरेकाे भनेर प्रतिक्रिया दिएका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट