दक्षिण एशियाली विद्यार्थी संगठनहरूको संयुक्त विरोध : `नेपालमा क्याम्पस सैन्यीकरण स्वीकार्य छैन´
काठमाडौं । नेपालमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने तथा शैक्षिक संस्थामा सुरक्षा बल परिचालन गर्ने सरकारी निर्णयविरुद्ध दक्षिण एशियाका विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त रूपमा विरोध जनाएका छन् ।
“कोलम्बो डिक्लेरेशन युनिटी” अन्तर्गत जारी संयुक्त वक्तव्यमा दक्षिण एशियाली विद्यार्थी संगठनहरूले नेपाल सरकारको उक्त निर्णय लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय मानवअधिकार मान्यताविपरीत रहेको बताएका छन् ।
वक्तव्यमा नेपालसहित दक्षिण एशियाको राजनीतिक इतिहासमा विद्यार्थी आन्दोलनहरूले लोकतन्त्र, सामाजिक परिवर्तन र प्रगतिशील आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ । शैक्षिक संस्था स्वतन्त्र बहस, वैचारिक आदान–प्रदान र सामूहिक गतिविधिको केन्द्र हुनुपर्ने उल्लेख गर्दै विद्यार्थी संगठनमाथिको प्रतिबन्धलाई युवाहरूको वैचारिक स्वतन्त्रतामाथिको आक्रमणका रूपमा व्याख्या गरिएको छ ।
संयुक्त वक्तव्यमा क्याम्पस तथा शैक्षिक संस्थामा प्रहरी तथा सुरक्षा बल परिचालन गर्ने निर्णयको पनि कडा विरोध गरिएको छ । विद्यार्थी संगठनहरूले यसलाई “शैक्षिक क्षेत्रको सैन्यीकरण” को संज्ञा दिँदै अध्ययन–अध्यापनको स्वतन्त्र वातावरणलाई डर, निगरानी र नियन्त्रणको क्षेत्रमा रूपान्तरण गर्ने प्रयास भएको आरोप लगाएका छन् ।
दक्षिण एशियाली विद्यार्थी संगठनहरूले नेपालका विद्यार्थी संगठनहरूप्रति ऐक्यबद्धता जनाउँदै विश्वभरका विद्यार्थी, युवा तथा प्रगतिशील शक्तिहरूलाई पनि प्रतिबन्ध र क्याम्पस सैन्यीकरणविरुद्ध आवाज उठाउन आह्वान गरेका छन् । उनीहरूले नेपाल सरकारसँग विद्यार्थी संगठनमाथिको प्रतिबन्ध तत्काल फिर्ता लिन, शैक्षिक संस्थाहरूमा सुरक्षा बल परिचालन रोक्न तथा संगठन र भेला हुने लोकतान्त्रिक अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।
संयुक्त वक्तव्यमा भारत, नेपाल, पाकिस्तान, श्रीलंका र बंगलादेशका विभिन्न विद्यार्थी संगठनहरूको हस्ताक्षर रहेको छ ।

क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया