एसईई नतिजा चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिकासमेत हेर्न पाउने
काठमाडौं । सोमबार राति सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा चित्त नबुझे परीक्षार्थीले पुनर्योग र उत्तरपुस्तिका हेर्न पाउने भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले पुनर्योग र उत्तरपुस्तिका हेर्न पाउनेसमेत व्यवस्था गरिएको जनाएको छ।
पुनर्योग गर्न चाहने परीक्षार्थीले जेठ १ गतेदेखि जेठ ७ गतेसम्म बोर्डको वेबसाइटमा गएर फाराम भर्नुपर्नेछ । पुनर्योगका साथै विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन समेत पाउने बोर्डले जनाएको छ । अनुत्तीर्ण भएकालाई आउँदो असार एक गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने भएको छ । नन्ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् ।
एसइई परीक्षामा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने । परीक्षामा दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका र एक लाख ४६ हजार ५०७ परीक्षार्थी ननग्रेडेड भएका छन् ।
यसपटक एसइईमा दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्रले परीक्षाको फाराम भरेकामा चार लाख ३० हजार ६६७ जना परीक्षामा सहभागी भएका छन् ।
सार्वजनिक नतिजाअनुसार ४८ हजार ३९२ परीक्षार्थीले सबैभन्दा उच्च जिपिए अर्थात् ३.६० देखि चार ल्याएका छन् भने ८० हजार ३७२ जनाले ३.२० देखि ३.६० जिपिए ल्याएका छन् ।
त्यस्तै, ९४ हजार २२२ जनाले २.८० देखि ३.२० जिपिए, ५५ हजार ९७७ जनाले २.४० देखि २.८० जिपीए, पाँच हजार १९० जनाले दुईदेखि २.४० जिपिए र सात जनाले १.६० देखि दुई जिपिए ल्याएका छन् ।
उनका अनुसार ननग्रेडेड (एनजी) प्राप्त गर्ने विद्यार्थीहरूले पुनःग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ । दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने जनाउँदै सोभन्दा बढी विषयमा एनजी आउनेहरू अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
यसवर्ष एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको निर्देशनपछि बोर्डले परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण गराएको थियो । वैशाख ५ गतेसम्ममा देशैभरबाट उत्तरपुस्तिका बोर्डको कार्यालयमा सङ्कलन गरी नतिजा अध्यावधिक गर्ने, कम्प्युटरमा प्रविष्ट गराउने काम थालिएको थियो । गत वर्ष असार १३ गते परीक्षाफल सार्वजनिक भएको थियो ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया