Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

श्रममन्त्रीको सचिवालयमा कार्यरत मियाँ अपहरण मुद्दामा पक्राउ


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ गम्भीर अपराध सम्बन्धी कसुरमा पक्राउ परेका छन् ।

सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर–१ बल्थी घर भई हाल राजविराज नगरपालिका वडा नम्बर–३ पाख्रेल टोल बस्ने २७ वर्षीय मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा पक्राउ परेका हुन् । उनलाई सोमबार राजविराजबाट पक्राउ गरिएको जनाइएको छ ।

मियाँ सहितको समूह मिलेर २०८२ फागुन १४ मा राजु कुमार चौधरीलाई अपहरण गरेर लुटपाट गरेको आरोप छ । त्यस दिन बिहान ८ बजेको समयमा राजविराज नगरपालिका वडा नम्बर–३ हनुमान चोकमा मुस्तकिम मियाँ बा.९९ प ५७७५ नम्बरको मोटरसाइकलमा थप ३ जना लिएर अपहरण गर्न गएका हुन् ।

दुईवटा मोटरसाइकलमा आएका मियाँको समूहका युवाहरूले बन्दुक देखाएर आफूलाई कब्जामा लिएर राजविराज नगरपालिका–८ स्थित हिमालय राईस मिलको पछाडि पर्वत भन्ने स्थानको सुनसान खाली चौरमा लगेर बन्धक बनाई कुटपिट गरेको पीडितको आरोप छ ।

धम्की दिएर उनीहरूले भुईँमा थुकेर चाट्न लगाउँदै मोबाइल, २ तोला सुनको सिक्री र नगद १ लाख ३० हजार लुटेर नाङ्गै छाडेर हिँडेको पीडितले प्रहरीलाई बताएका छन् । अपहरणमा संलग्न अरू ३ जना फरार छन् ।

मियाँलाई विरुद्ध वैशाख २४ मा जिल्ला अदालत सप्तरीले पक्राउ अनुमति दिएको थियो । मुस्तकिम मियाँ समेतका आरोपीहरू विरुद्ध अपहरण वा शरीर बन्धक र अपमानजनक, अमानवीय व्यवहार सम्बन्धी कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।

मियाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको स्वकीय सचिवालयको हलुका सवारी चालक पदमा २०८२ चैत २७ मा नियुक्त भएको भेटिएको छ ।

मियाँ थप दुईवटा मुद्दामा फरार छन् । विद्युतीय अपराध सम्बन्धी कसुर र अर्का एक जना युवकलाई नाङ्गेझार बनाएर कुटपिट गरेको कसुरमा उनी फरार थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट