प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ३ वटा उजुरी
काठमाडौं । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्माविरुद्ध ३ वटा उजुरी परेको छ ।
संसदीय सुनुवाइ समितिको गत शुक्रबार बसेको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । मंगलबारसम्म तीन वटा उजुरी प्राप्त भएको जनाइएको छ ।
आगामी जेठ ४ गतेसम्म उजुरी गर्ने म्याद तोकिएको छ । उजुरी दिन हुलाकदेखि इमेलसम्मलाई उपयोग गर्न सकिनेछ । सिधै सचिवालयमा पुगेर पत्रमार्फत पनि उजुरी दिन सकिन्छ । सुनुवाइ समितिका सदस्यहरूलाई प्रत्यक्ष भेटेर खामभित्र राखेर उजुरी दिन सकिन्छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट पनि उजुरी गर्न सकिन्छ । इमेलबाट पनि उजुरी दिन सकिन्छ ।
जुरी दिँदा भने विषयवस्तुको आधार र कारण स्पष्ट खुलाउन आग्रह गरिएको छ । आगामी जेठ ५ गते बस्ने सुनुवाइ समिति बैठकले सबै समिति सदस्यको रोहबरमा प्राप्त उजुरी खोल्नेछ ।
त्यसपछि अध्ययनका लागि सबै सदस्यहरूलाई वितरण हुनेछ । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिश गरेका शर्मालाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया