शक्ति बस्नेतकाे गतिविधिप्रति असन्तुष्टि जनाउँदै नेकपाका युवा नेता बर्तौलाको राजीनामा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका युवा नेता जनक बर्तौलाले पार्टीभित्र देखिएको गुटगत गतिविधि र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी सदस्यताबाटै राजीनामा दिएका छन् ।काठमाडौँको कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर बर्तौलाले बुझाएको राजीनामा पत्रमा उनले पार्टी र खेलकुद क्षेत्रमा आफूले लामो समय योगदान दिएको उल्लेख गर्दै पछिल्लो समयको वातावरणले जिम्मेवारीपूर्वक काम गर्न नसक्ने अवस्था सिर्जना भएको बताएका छन् ।२०३७ सालको थाहा आन्दोलनका प्रवर्तक रूपचन्द्र विष्टसँग कम्युनिस्ट पार्टीको सदस्यता लिएर विभिन्न आन्दोलनमा सहभागी हुँदै आएको उल्लेख गर्दै बर्तौलाले ०६२/०६३ को आन्दोलनदेखि तत्कालीन नेकपा माओवादीसँग आबद्ध भएर सक्रिय भूमिका खेलेको बताएका छन् ।
हाल उनी अखिल नेपाल होटल तथा रेष्टुराँ मजदुर संघमा आबद्ध हुनुका साथै सम्पर्क समन्वय प्रदेश सचिवालय सदस्य र अखिल नेपाल खेलकुद महासंघका सह–अध्यक्षका रूपमा कार्यरत थिए ।
राजीनामा पत्रमा बर्तौलाले खेलकुद महासंघभित्र देखिएको आन्तरिक विवादप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उनले महासंघको सम्मेलनदेखि नै विस्तारै असन्तुलित अवस्था बढ्दै गएको दाबी गरेका छन् ।
विशेषगरी संगठनका फ्र्याक्सन इन्चार्ज शक्ति बस्नेतले गरेका प्रतिबद्धता पटक–पटक छलफल हुँदा पनि पूरा नगरेको, स्वार्थअनुकूल निर्णय गरिएको तथा महासंघका इन्चार्ज दीपक कोइराला ‘रुपक’ र अध्यक्ष शिव कोइराला ‘ज्वाला’लाई अघि सारेर संगठनलाई कमजोर बनाउने खेल भएको आरोप उनले लगाएका छन् ।
“शक्ति बस्नेत, दीपक कोइराला र शिव कोइरालाका कारण पार्टी तथा महासंघमा सही कार्यकर्ताले काम गर्ने वातावरण नभएको” भन्दै उनले पत्रमा उल्लेख गरेका छन् । साथै पार्टीभित्र गुट मौलाएको, सक्षम र योग्य व्यक्तिहरू बाहिरिन बाध्य भएको तथा आफूलाई पनि जिम्मेवारीपूर्वक काम गर्ने वातावरण नदिइएको गुनासो गरेका छन् । पुस्पकमलका प्रिय पात्र मानिएका शक्ति बस्नेत, दीपक काेइराला र शिव काेइराला आर्थिक रूपमा निकै विवादित मानिन्छन् ।
यही कारण आफूले “प्रिय पार्टीसँगको सम्पूर्ण आबद्धता विच्छेद गर्दै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको” बर्तौलाले पत्रमार्फत जनाएका छन् ।
उनको राजीनामालाई पार्टीभित्रको आन्तरिक असन्तुष्टि र संगठनात्मक विवाद चर्कदै गएकाे रूपमा हेरिएको छ ।

क्याटेगोरी : राजनीति













प्रतिक्रिया