व्यापार घाटा साढे १४ खर्ब : १० महिनामा करिब १७ खर्बको आयात हुँदा साढे २ खर्बको निर्यात
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउनदेखि वैशाख मसान्तसम्म) मा नेपालले १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार समीक्षा अवधिमा कुल १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।
भन्सार विभागका अनुसार वैशाख मसान्तसम्म विभिन्न मुलुकबाट १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको (१४ खर्ब ७४ अर्ब १८ करोड) तुलनामा १४.८२ प्रतिशतले बढी हो ।
निर्याततर्फ भने नेपालले केही सुधार गर्दै २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा १४.२५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँको निर्यात भएको थियो ।
आयात र निर्यात दुवैमा वृद्धि भए पनि आयातको हिस्सा अत्यधिक हुँदा व्यापार घाटामा उच्च वृद्धि भएको छ ।
समीक्षा अवधिमा नेपालको व्यापार घाटा १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.९२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।
तथ्यांक अनुसार कुल व्यापारमा आयातको हिस्सा ८७.१७ प्रतिशत र निर्यातको हिस्सा मात्र १२.८२ प्रतिशत रहेको छ । आयात र निर्यातको रेसियो ६.७९ प्रतिशत रहेको छ ।
डेढ सय देशसँग वैशिक व्यापार, भारत र चीन प्रमुख साझेदार
नेपालको वैदेशिक व्यापारको तथ्यांक केलाउँदा डेढ सय देशबाट आयात/निर्यात भएको देखिन्छ । तर, प्रमुख व्यापारिक साझेदार भने भारत र चीन नै हुन् ।
१० महिनामा भारतबाट ९ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । नेपालबाट भारतमा २ खर्ब ४ अर्ब बराबरको वस्तु निर्यात भएको छ । चीनबाट ३ खर्ब ३६ अर्बको वस्तु आयात भएको छ । नेपालबाट चीनतर्फ १ अर्ब ३९ करोडको मात्र निर्यात भएको छ ।
दक्षिण अमेरिकी देश अर्जेन्टिना तेस्रो व्यापार साझेदार मुलुक बनेको छ । त्यहाँबाट ९५ अर्ब २७ करोडको वस्तु आयात भएको छ । यूनाइटेड अरब इमिरेट्स (यूएई) बाट ४९ अर्ब ७४ करोडको आयात भएको छ । त्यहाँबाट १ अर्ब ५७ करोड बराबर निर्यात भएको छ । अमेरिकाबाट २५ अर्ब ९१ करोडको वस्तु आयात भएको छ । नेपालबाट यूएईमा १६ अर्ब ५८ करोडको सामान निर्यात भएको छ ।
क्याटेगोरी : अर्थ












प्रतिक्रिया