Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

डलरमा ट्रम्पको फोटो छाप्न १६० वर्ष पुरानो कानुन बदल्ने तयारी


काठमाडौं। अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसको अवसर पारेर राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित २५० डलरको नयाँ नोट जारी गर्ने प्रस्तावले अमेरिकी राजनीतिमा नयाँ बहस सुरु गरेको छ।
जुलाई ४, २०२६ मा अमेरिकाले स्थापना भएको २५० वर्ष पूरा गर्दैछ। सोही अवसरलाई लक्षित गर्दै ट्रम्प प्रशासनले विशेष स्मारक नोट ल्याउने तयारीलाई तीव्र बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ‘डोनाल्ड जे। ट्रम्प २५० डलर बिल एक्ट’ संसद्बाट पारित भए योजना कार्यान्वयनतर्फ अघि बढ्ने बताएका छन्।
यस योजनाअन्तर्गत अमेरिकी मुद्रा छाप्ने सरकारी निकाय ब्युरो अफ इन्ग्रेभिङ एन्ड प्रिन्टिङ ९बीइपी० लाई प्रारम्भिक डिजाइन र प्राविधिक तयारी सुरु गर्न आन्तरिक निर्देशन दिइएको बताइएको छ।
तर, यो प्रस्ताव कार्यान्वयनका लागि अमेरिकाको लामो समयदेखि कायम कानुनी व्यवस्थामा संशोधन गर्नुपर्ने अवस्था छ। सन् १८६६ देखि लागू रहेको कानुनअनुसार जीवित व्यक्तिको तस्बिर अमेरिकी मुद्रामा प्रयोग गर्न पाइँदैन।
यो कानुन परिवर्तन गर्न रिपब्लिकन सांसद जो विल्सनले संसद्मा विधेयक दर्ता गरेका छन्। उक्त प्रस्तावलाई हाल संसद्को वित्तीय सेवा समितिले सुनुवाइ प्रक्रियामा लैजान अनुमति दिएको छ।
प्रस्तावित नोटको प्रारम्भिक डिजाइन ब्रिटिस कलाकार इयान अलेक्जेन्डरले तयार पारेका हुन्। डिजाइनमा अमेरिकी झण्डाको रङ र २५०औँ वार्षिकोत्सवको लोगो समावेश गरिएको बताइएको छ।

यद्यपि, योजनाप्रति आलोचना पनि बढ्दो छ। मुद्रा विज्ञहरूले नयाँ सुरक्षा प्रणालीसहित नोट उत्पादन गर्न तथा एटिएम प्रणाली अनुकूल बनाउन वर्षौं लाग्न सक्ने बताएका छन्। विपक्षी डेमोक्र्याटहरूले भने यसलाई राष्ट्रिय उत्सवभन्दा बढी ट्रम्पको व्यक्तिपूजासँग जोडिएको कदमको रूपमा आलोचना गरेका छन्।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट