इरानको दाबी: जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी ड्रोन खसालियो
काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स आईआरजीसी ले अमेरिकी एमक्यू–१ ड्रोन खसालेको दाबी गरेको छ। आइतबार बिहान जारी विज्ञप्तिमा इरानी जलक्षेत्रमा प्रवेश गरी गतिविधि सञ्चालन गर्न खोजेको ड्रोनलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले निशाना बनाएको उल्लेख गरिएको छ।
आईआरजीसीका अनुसार ड्रोनलाई उन्नत क्षेप्यास्त्र प्रणालीमार्फत पहिचान गरी तत्काल खसालिएको हो। इरानी सञ्चारमाध्यमहरूले उद्धृत गरेको सुरक्षा निकायको भनाइअनुसार देशको समुद्री सीमा पूर्ण निगरानीमा रहेको र कुनै पनि प्रकारको अतिक्रमण सहन नगरिने चेतावनी दिइएको छ।
घटनालाई लिएर अमेरिकी पक्षबाट भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकम ले इरानको दाबीबारे मौनता कायम राखेको छ।
पछिल्ला दिनहरूमा क्षेत्रीय सुरक्षा अवस्था संवेदनशील बन्दै गइरहेका बेला इरानको यो दाबीले अन्तर्राष्ट्रिय चासो बढाएको छ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया