रास्वपाले आज साँझ ८ बजे सचिवालय बैठक बोलायो
काठमाडौं, १७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले सचिवालय बैठक बोलाएको छ। बैठक आजै साँझ ८ बजे भर्चुअल माध्यमबाट बस्ने तय भएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।
उनका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी गतिविधि तथा संगठनात्मक विषयहरूमा विस्तृत छलफल हुनेछ। साथै अनुशासन आयोग, निर्वाचन आयोग र विभिन्न विभागहरूको मनोनयन तथा अनुशासनात्मक कारबाहीका विषय पनि एजेन्डामा समावेश छन्।
त्यस्तै, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूलआयोजक समितिअन्तर्गतका उपसमितिहरूको गठन तथा महाधिवेशन निर्वाचन कार्यविधि सम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ।
विधान संशोधन, संघीय सांसदहरूको पार्टी जिम्मेवारी तथा अन्य संगठनात्मक व्यवस्थापनका विषयमा पनि बैठकमा विचार विमर्श हुने महामन्त्री बुर्लाकोटीले बताए।
बैठकमा जिल्ला अधिवेशन कार्यविधि संशोधनका साथै प्रदेश, जिल्ला र पालिका तहका अधिवेशनमा २५ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारहरू एक तह माथिको अधिवेशनमा प्रतिनिधि हुने व्यवस्थाबारे पनि छलफल हुने जनाइएको छ। साथै सम्बन्धित तहको अधिवेशनमा उम्मेदवार नभएर पनि एक तह माथिको अधिवेशनमा प्रतिनिधि हुने व्यवस्था सम्बन्धी विषयमा समेत छलफल तय भएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया