दिल्लीमा रास्वपा सभापति लामिछानेको भव्य सत्कार: बाजागाजा र पुष्प वर्षासहित भाजपाले गर्यो स्वागत
काठमाडौं। भारतको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी भाजपा को केन्द्रीय मुख्यालयमा भव्य स्वागत गरिएको छ।
नयाँ दिल्लीस्थित भाजपा मुख्यालय परिसरमा पुग्नुभएका सभापति लामिछानेलाई परम्परागत बाजागाजा र पुष्प वर्षासहित विशेष स्वागत गरिएको हो।
उनलाई भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनलगायतका वरिष्ठ पदाधिकारीहरूले आदरपूर्वक स्वागत गरेका थिए स्वागतपश्चात् लामिछाने नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भाजपा मुख्यालयको विशेष अवलोकन गरेको थियो।
सो क्रममा दुवै देशका नेताहरूबीच नेपाल(भारत सम्बन्धलाई ऐतिहासिक र कूटनीतिक रूपमा थप मजबुत एवं प्रगाढ बनाउने विषयमा फलदायी दुई पक्षीय संवाद समेत भएको थियो।
यस भ्रमणले विशेष गरी रास्वपा र भाजपाबीच ‘पार्टी टु पार्टी’ ९दलगत० संलग्नताको नयाँ सुरुवात गर्ने लक्ष्य राखेको छ। दुई दलबीचको यो साक्षात्कारले संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया सुदृढीकरण तथा जनता केन्द्रित राजनीतिक पहुँचका विविध आयामहरूमा एकापसमा विचार र अनुभव आदानप्रदान गर्ने नवीन अवसर प्रदान गर्ने विश्वास लिइएको छ।
नेपाली प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्दै भारतीय जनता पार्टीले आगामी दिनमा पनि यस्ता रचनात्मक संवाद र सहकार्यका लागि आफूहरू सदैव तत्पर रहेको प्रस्ट पारेको छ।
यसअघि, मंगलबार दिउँसो भाजपाले अघि सारेको ‘भाजपालाई चिन्नुहोस्’ पहल अन्तर्गत मुख्यालयमा आयोजना गरिएको एक विशेष अन्तरक्रिया कार्यक्रममा १२ देशका प्रतिनिधिहरूसँगै रास्वपा टोलीको पनि सहभागिता रहेको थियो।
भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनको अध्यक्षतामा भएको उक्त अन्तरक्रियामा भाजपाको विदेश मामिला विभागका प्रभारी विजय चौथाईवालेको समेत उपस्थिति रहेको थियो। भाजपा मुख्यालयले रास्वपा सभापति लामिछानेको सम्मानमा विशेष रात्रिभोजको समेत आयोजना गरेको जनाएको छ।
यसअघि आयोजित एक कार्यक्रममा भाजपाका राष्ट्रिय अध्यक्ष नवीनले भाजपाको यात्रा केवल एउटा राजनीतिक दलको विस्तारको कथा मात्र नभएर राष्ट्रवाद, सांस्कृतिक चेतना, सेवा, निरन्तर सङ्घर्ष र समाजको अन्तिम व्यक्तिसम्म विकासको प्रतिफल पुर्याउने संकल्पको ऐतिहासिक यात्रा भएको धारणा राखेका थिए।
रास्वपा नेतृत्वको यो भ्रमणले दुई देशका उदीयमान र स्थापित राजनीतिक शक्तिबीचको सम्बन्धमा नयाँ आयाम थप्ने राजनीतिक विश्लेषकहरूको बुझाइ छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया