Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

नेतृत्व रूपान्तरण आवश्यक, हतारमा वाम एकता अर्थहीन हुन्छ: प्रदीप ज्ञवाली


काठमाडौं । प्रदीप ज्ञवाली ले वर्तमान राजनीतिक परिवेशमा समयअनुकूल नेतृत्व रूपान्तरण अपरिहार्य भएको बताएका छन् । मुलुकले ठूलो उथलपुथलको चरण पार गरिसकेको उल्लेख गर्दै उनले अबको नेतृत्व नयाँ चुनौती सामना गर्न सक्षम हुनुपर्नेमा जोड दिएका हुन् ।

ज्ञवालीका अनुसार देश मात्र होइन, राजनीतिक दलहरू पनि पुरानै ढाँचामा अगाडि बढ्न नसक्ने अवस्था आइसकेको छ । “नयाँ चुनौतीलाई सामना गर्न बिल्कुल नयाँ ढङ्ग आवश्यक छ,” उनले भने, “यी विषयहरू पार्टीभित्रका विभिन्न फोरम र बैठकहरूमा निरन्तर उठिरहेका छन् ।”

उनले नेतृत्व परिवर्तनको बहस कुनै एक दलमा सीमित नभई सबै राजनीतिक दलहरूमा स्वाभाविक रूपमा उठ्ने विषय भएको स्पष्ट पारे । पार्टीभित्र यसबारे छलफल चलिरहेको उल्लेख गर्दै उनले संस्थागत प्रक्रियामार्फत निष्कर्षमा पुगिने बताए ।

वाम एकताको सन्दर्भमा भने उनले अहिले कुनै संस्थागत निर्णय नभएको स्पष्ट पारे । “व्यक्तिगत तहमा भएका संवादहरूलाई संस्थागत निर्णयका रूपमा लिन मिल्दैन,” उनले भने । उनका अनुसार अहिलेको राजनीतिक परिस्थिति वाम एकताका लागि धेरै अनुकूल पनि देखिँदैन ।

ज्ञवालीले राजनीतिक दलहरू अहिले पछिल्लो निर्वाचनको समीक्षा प्रक्रियामा रहेको उल्लेख गर्दै कम्युनिस्ट आन्दोलनले धक्का किन खायो भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताए । “पहिले समीक्षा सकिनुपर्छ, त्यसपछि मात्र अगाडिको बाटो तय हुन्छ,” उनले भने ।

उनले समीक्षा र स्पष्ट कार्यदिशा बिना गरिने एकता अर्थहीन हुने तर्क गरे । २०७४ सालको वाम एकताको अनुभव स्मरण गर्दै उनले हतारमा गरिएको एकताले पार्टीलाई ठूलो क्षति पुगेको उल्लेख गरे । “हामीले विगतबाट पाठ सिकिसकेका छौँ,” उनले भने, “त्यसैले अहिले वाम एकताको नाममा हतारिनु उपयुक्त हुँदैन ।”


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट