Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

सप्तरीको गम्हरिया पोखरी सौन्दर्यीकरणको ठेक्का रद्द गर्ने तयारीमा


काठमाडौं । सप्तरीको खडक नगरपालिकाले गम्हरिया पोखरी सौन्दर्यीकरण आयोजनाको निर्माण कार्य लामो समयदेखि अलपत्र परेको भन्दै ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाएको छ। नगरपालिकाले निर्माण कम्पनीसँग सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

नगरपालिकाका अनुसार वडा नम्बर ६ स्थित गम्हरिया पोखरी सौन्दर्यीकरण आयोजनाको निर्माण जिम्मा रविना ओम गणेशाय जेभी, डाक्नेश्वरी–९, सप्तरीले पाएको थियो। तर पटक–पटक म्याद थप गरिँदा समेत कम्पनीले निर्माण कार्य पूरा नगरेको, पेश्की रकम लिएर पनि उल्लेखनीय प्रगति नदेखाएको तथा लामो समयदेखि कार्यस्थलमा अनुपस्थित रहेको आरोप लगाइएको छ।

निर्माण कार्य समयमै सम्पन्न गर्न नगरपालिकाले विभिन्न चरणमा पत्राचार र ताकेता गरे पनि कम्पनीले कामलाई निरन्तरता नदिएको जनाइएको छ। निर्माण सम्पन्न गर्न तोकिएको समयावधि सकिन आठ दिन मात्र बाँकी रहँदा पनि निर्माण व्यवसायीले नियमानुसार थप म्यादका लागि निवेदन नदिएको सूचनामा उल्लेख छ।

सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार ठेक्का सम्झौता किन अन्त्य नगर्ने र कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस किन नगर्ने भन्ने विषयमा स्पष्ट जवाफ दिन नगरपालिकाले आग्रह गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत हरेन्द्रकुमार श्रेष्ठद्वारा जारी सूचनामा तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण प्राप्त नभए ठेक्का सम्झौता रद्द गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ।

नगरपालिकाको अभिलेखअनुसार २०७८ भदौ २१ गते बोलपत्र मूल्यांकन समितिले आयोजनाका लागि प्राप्त आठवटा प्राविधिक प्रस्ताव स्वीकृत गरेको थियो। त्यसपछि २०७८ असोज ७ गते ३ करोड ९९ लाख ७८ हजार ७४२ रुपैयाँमा रविना ओम गणेशाय जेभीलाई ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरिएको थियो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट