फ्रान्समा अत्यधिक गर्मीका कारण थप २ हजार जनाभन्दा धेरैको मृत्यु
फ्रान्समा अत्यधिक गर्मीका कारण थप २ हजार जनाभन्दा धेरैको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।
गएको जुन महिनाको २२ देखि २८ तारिखसम्म कीर्तिमानी स्तरको तातो हावाको लहर चलेको अन्तिम हप्तामा थप २ हजार २५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । गर्मीका कारण ज्यान गुमाउनेको सङ्ख्या २९ प्रतिशतले बढेको फ्रान्सकी स्वास्थ्यमन्त्री स्टेफनी रिस्टलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।
पब्लिक हेल्थ फ्रान्सका अनुसार सबैभन्दा धेरै प्रभाव पेरिस क्षेत्रमा देखिएको छ । पेरिसमा यही अवधिमा गर्मीका कारण ज्यान गुमाउनेको सङ्ख्या ६२ प्रतिशतले बढेको छ ।
फ्रान्सले गएको जुनमा इतिहासकै तीव्र तातो हावाको लहर सामना गरेको थियो । देशका धेरै ठाउँमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो ।
यस घटनापछि जलवायु परिवर्तनसँग जुध्न सरकारले प्रभावकारी तयारी नगरेको भन्दै केही राजनीतिक दलले आलोचना गरेका छन् । ‘द ग्रीन पार्टी’ ले यसै विषयलाई लिएर सरकारविरुद्ध अविश्वास प्रस्तावसमेत दर्ता गरेको छ ।
स्वास्थ्यमन्त्री रिस्टले यस पटकको अवस्था सन् २००३ को विनाशकारी गर्मीको लहरसँग प्रत्यक्ष तुलना गर्न नमिल्ने बताउनुभयो । सन् २००३ को गर्मीका कारण फ्रान्समा झन्डै १५ हजार जनाको ज्यान गएको थियो ।
मौसमविद्हरूले युरोपमा पछिल्ला दिनहरूमा थप अत्यधिक तापक्रमको चेतावनी दिएका छन् ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया