Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

पाकिस्तानमा भिरबाट बस खस्दा ४० जनाको मृत्यु


काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा शुक्रबार बिहान यात्रु बोकेको एउटा बस भिरबाट खस्दा ४० जनाको मृत्यु भएको छ । बस खोँचमा खस्दा आठजना घाइते भएका छन् ।

प्रहरी अधिकारी अली रजाले समाचार एजेन्सी डीपीएलाई दिएको जानकारीअनुसार उक्त बस क्वेटाबाट पेसावरतर्फ जाँदै थियो । यात्रा सुरु गरेको करिब आधा दुरी पार गरेपछि बस दाना सरको पहाडी क्षेत्रमा दुर्घटनामा परेको हो ।

समाचार एजेन्सी एपीका अनुसार, बसमा क्षमताभन्दा बढी यात्रु सवार थिए र तीव्र गतिमा गुडिरहेको अवस्थामा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले दुर्घटनाग्रस्त बसले बाटोमै बिग्रिएको अर्को बसका यात्रुहरूलाई समेत चढाइएको जानकारी दिए । उनका अनुसार, मृतकहरूको पहिचान खुलाउने प्रयास जारी छ ।

उद्धार विभागका प्रवक्ता फजल दिनले डीपीएसँग कुरा गर्दै भिरबाट गहिरो खोँचमा खसेका कारण बस पूर्ण रूपमा क्षतिग्रस्त भएको बताए ।

उनले केही घाइतेको अवस्था अझै गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने आशंका व्यक्त गरेका छन् ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट