Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

अमेरिकी कालोसूचीमा अलीबाबा, बीवाईडी र बाइडु


काठमाडौं । अमेरिकाले चिनियाँ कम्पनीहरू अलीबाबा, बीवाईडी र बाइडुलाई चीनको सेनालाई सहयोग गर्ने कम्पनीको रूपमा सूचीकृत गर्दै आफ्नो कालोसूची (ब्ल्याक लिस्ट)मा राखेको छ ।

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सोमबार सार्वजनिक गरेको अद्यावधिक ‘चिनियाँ सैन्य कम्पनी’ सूचीमा यी तीन कम्पनीलाई थपेको हो। नयाँ सूचीसँगै कालोसूचीमा रहेका कम्पनीहरूको संख्या १८८ पुगेको छ, जबकि सन् २०२५ मा यो संख्या १३४ थियो।

चीनको सैन्य–नागरिक एकीकरण रणनीतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने तथा चिनियाँ सेनासँग सम्बन्धित संस्थाहरूलाई उक्त सूचीमा राख्ने गरिन्छ। मन्त्रालयले अलीबाबा, बीवाईडी र बाइडुले चीनको राज्य स्वामित्वको सम्पत्ति सुपरिवेक्षण तथा प्रशासन आयोग र उद्योग तथा सूचना प्रविधि मन्त्रालयसँगको सम्बन्धमार्फत सैन्य क्षमताको विकासमा सहयोग गरेको दाबी गरेको छ।

पेन्टागनको निर्णयप्रति वासिङ्टनस्थित चिनियाँ दूतावासले आपत्ति जनाउँदै यसलाई भेदभावपूर्ण र गलत अभ्यासको संज्ञा दिएको छ।

उता, चीनको सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अलीबाबाले आफूलाई कालोसूचीमा राख्न कुनै ठोस आधार नभएको दाबी गर्दै निर्णयविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ। बीवाईडी र बाइडुले भने यस विषयमा तत्काल कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट