सार्वजनिक पदधारण व्यक्तिबाट हतियार प्रदर्शन !
काठमाडौं । सार्वजनिक पदमा रहेका व्यक्तिले हतियार प्रदर्शन गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा नयाँ बहस सुरु भएको छ । सिन्धुलीको गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला न्यौपाने ‘पुकार’ स्मार्टफोनमा कुरा गरिरहेका बेला टेबुलमाथि रिभल्भर राखिएको तस्बिर दियोपोस्ट अनलाइनले सार्वजनिक गरेपछि यस विषयले चर्चा पाएको हो ।
सार्वजनिक भएको तस्बिरमा उपाध्यक्ष पुकार हाेटेल जस्ताे देखिने स्थानमा फोनमा कुरा गरिरहेका छन् भने अगाडि रहेको टेबुलमा रिभल्भर स्पष्ट देखिन्छ । तस्बिर बाहिरिएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् । धेरैले सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले यस्तो ढंगले हतियार प्रदर्शन गर्नु उचित नभएको बताएका छन् ।
विवाद बढेपछि उपाध्यक्ष पुकारले फरक–फरक प्रतिक्रिया दिएका छन् । उनले सुरुमा उक्त रिभल्भर युद्धकालकाे भएकाे बताएका थिए । युद्धकालमा नेपालमा याे किसिमकाे स्मार्टफाेनकाे चलन नै थिएन । याे प्रश्न गर्दा उनले तस्बिर कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट बनाइएको दाबी गरे । तर दियोपोस्टले गरेको तथ्य परीक्षणमा तस्बिर वास्तविक रहेको र रिभल्भर उनकै टेबुलमा राखिएको निष्कर्ष निकालिएको जनाएको छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख रवीन्द्र सिंहले घटनाबारे अध्ययन भइरहेको बताएका छन् । हतियारको प्रकृति, त्यसको वैधानिकता र तस्बिरसँग सम्बन्धित अन्य पक्षबारे आवश्यक जानकारी संकलन भइरहेको प्रहरीको भनाइ छ ।
यता उपाध्यक्ष पुकारले भने आफूविरुद्ध गलत प्रचार गरिएको आरोप लगाउँदै प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने बताएका छन् ।
दियोपोस्टले समाचार सार्वजनिक गरेपछि सार्वजनिक पदमा रहेका व्यक्तिको आचरण, हतियारको प्रदर्शन र त्यसले समाजमा पार्ने प्रभावबारे बहस सुरु भएको छ । द्वन्द्वको अनुभव बोकेको नेपाली समाजमा जनप्रतिनिधिले सार्वजनिक रूपमा हतियार प्रदर्शन गर्नु कत्तिको उचित हो भन्ने प्रश्न अहिले चर्चाको विषय बनेको छ । अनुसन्धानको निष्कर्ष आउन बाँकी रहे पनि यो घटनाले सार्वजनिक पदधारण गर्ने व्यक्तिको जिम्मेवारीबारे पुनः बहस जन्माएको छ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया