Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

इरान–अमेरिका द्वन्द्व चर्किँदा कच्चा तेलको मूल्य करिब १ प्रतिशत बढ्यो


काठमाडौँ । अमेरिका र इरानबीचको बढ्दो सैन्य तनावले विश्वव्यापी तेल बजारमा पुनः प्रभाव देखाएको छ। अमेरिकाले इरानमाथि हमला गरेपछि मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १ प्रतिशतले वृद्धि भएको छ।

अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट क्रुडको मूल्य ८३ सेन्ट अर्थात् ०.९ प्रतिशतले बढेर प्रतिबारेल ९२.२९ डलर पुगेको छ। त्यस्तै, अमेरिकी डब्लुटीआई क्रुड ६८ सेन्ट अर्थात् ०.८ प्रतिशतले बढ्दै प्रतिबारेल ८८.९७ डलरमा कारोबार भइरहेको छ।

यसअघि तेलको मूल्य सात सातायता कै न्यून स्तरमा झरेको थियो। तर पश्चिम एसियामा बढ्दो भूराजनीतिक तनाव र विश्वको प्रमुख तेल ढुवानी मार्ग मानिने होर्मुज स्ट्रेटसँग सम्बन्धित जोखिमका कारण बजारमा पुनः उछाल आएको विश्लेषण गरिएको छ।

इरानले होर्मुज स्ट्रेट नजिक अमेरिकी अपाचे हेलिकोप्टर खसालेको घटनापछि अमेरिकाले जवाफी कारबाहीस्वरूप इरानको केशम टापुमा हमला गरेको बताइएको छ।

यसैबीच, अमेरिकाले इरानविरुद्धको सैन्य अभियान सम्पन्न भएको जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार, अमेरिकी सेना तथा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यावसायिक पानीजहाजमाथि भएका आक्रमणको जवाफस्वरूप उक्त कारबाही गरिएको हो।

सेन्टकमका अनुसार अमेरिकी वायुसेना र नौसेनाका लडाकु विमानहरूले होर्मुज स्ट्रेट आसपास रहेका इरानका वायु रक्षा प्रणाली, ग्राउन्ड कन्ट्रोल स्टेसन तथा निगरानी राडार केन्द्रहरूलाई सटीक हतियार प्रयोग गरी निसाना बनाएका थिए।

विश्लेषकहरूका अनुसार मध्यपूर्वमा तनाव थप चर्किएमा तेल आपूर्ति र ढुवानीमा असर पर्न सक्ने भएकाले आगामी दिनमा तेलको मूल्य अझ अस्थिर बन्न सक्ने सम्भावना रहेको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट