क्यानडामा एक पाइलटले नक्कली लाइसेन्समा १७ वर्षसम्म उडाए विमान
काठमाडौँ । क्यानडाको राष्ट्रिय वायुसेवा कम्पनी एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको आधारमा करिब १७ वर्षसम्म व्यावसायिक विमान उडाएको आरोप लागेको छ। यस घटनाले उड्डयन सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
डेपुटी चिफ निक मिलिनोविचका अनुसार वालले हजारौँ यात्रु बोकेर उडान सञ्चालन गर्दै यात्रुहरूको सुरक्षालाई जोखिममा पारेका थिए। प्रहरीका अनुसार उनीमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग तथा नक्कली प्रमाण चिह्न राखेको लगायतका विभिन्न आरोप लगाइएको छ।
५९ वर्षीय वाललाई जुन १ मा पक्राउ गरिएको थियो। ट्रान्सपोर्ट क्यानडाले गरेको अनुसन्धानका क्रममा उनका कागजातमा शंकास्पद विवरण फेला परेपछि घटनाबारे विस्तृत छानबिन अघि बढाइएको हो।
अनुसन्धानबाट वालले सन् १९९८ मा उड्डयन क्षेत्रमा प्रवेश गरेको र सन् २००९ मा नक्कली प्रमाणपत्रको आधारमा ‘पाइलट-इन-कमाण्ड’ अर्थात् क्याप्टेनको जिम्मेवारी हासिल गरेको खुलेको प्रहरीले जनाएको छ। त्यसयता उनले वर्षौंसम्म व्यावसायिक उडान सञ्चालन गरेको आरोप छ।
गत वर्ष पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्सपोर्ट क्यानडाको नियमित सञ्चालनसम्बन्धी परीक्षणका क्रममा उनका कागजातमा त्रुटि भेटिएपछि यो विषय सार्वजनिक भएको थियो। त्यसपछि ‘प्रोजेक्ट इकारस’ नामक विशेष अनुसन्धान सुरु गरिएको थियो।
हाल अनुसन्धान एजेन्सीहरूले वालले नक्कली कागजात कसरी तयार गरे, ती कागजात प्रमाणीकरण प्रक्रियाबाट कसरी पार भए र यति लामो समयसम्म नियामक निकायको निगरानीबाट कसरी जोगिन सफल भए भन्ने विषयमा थप अनुसन्धान गरिरहेका छन्।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया