Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

नेप्सेमा १.३६ खर्ब रुपैयाँको धितोपत्र सूचीकृत, बोनस सेयर मात्रै ४० अर्बभन्दा बढी


काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १ खर्ब ३६ अर्ब ३० करोड रुपैयाँ बराबरका धितोपत्र सूचीकृत भएका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार यो अवधिमा साधारण सेयरदेखि बोनस, हकप्रद र डिबेन्चरसम्म विभिन्न उपकरणहरूको उल्लेख्य आपूर्ति देखिएको हो।

सूचीकृत धितोपत्रमध्ये सबैभन्दा ठूलो हिस्सा साधारण सेयर (आईपीओ) को रहेको छ। यस अवधिमा ४५ अर्ब ५४ करोड रुपैयाँ बराबरको आईपीओ सूचीकृत भएको छ। त्यसपछि ४० अर्ब ३३ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ, जसले बजारमा कम्पनीहरूको नाफा वितरण प्रवृत्ति सक्रिय रहेको देखाउँछ।

त्यस्तै, ९ अर्ब ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, २७ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको डिबेन्चर, ९७ करोड १७ लाख रुपैयाँ बराबरको फर्दर पब्लिक अफर (एफपीओ) र २ करोड २९ लाख रुपैयाँ बराबरको अन्य धितोपत्र पनि सूचीकृत भएका छन्।

नेपाल धितोपत्र बोर्डका अनुसार सोही अवधिमा ४१ अर्ब ५३ करोड रुपैयाँ बराबरका नयाँ निष्काशनका लागि अनुमति दिइएको छ। यसमा २७ अर्ब २३ करोड रुपैयाँ बराबरका म्युचुअल फन्ड, ९ अर्ब १२ करोड रुपैयाँ बराबरका साधारण सेयर, ४ अर्ब ९४ करोड रुपैयाँ बराबरका हकप्रद, २० करोड रुपैयाँ बराबरका डिबेन्चर र ५ करोड रुपैयाँ बराबरका एफपीओ समावेश छन्।

नेप्सेमा वैशाख मसान्तसम्म सूचीकृत कुल सेयर संख्या ९ अर्ब ४८ करोड रहेको छ, जसको चुक्ता मूल्य ९ खर्ब ३४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। हाल सूचीकृत कम्पनीहरूको संख्या २९४ पुगेको छ, जुन गत वर्षको सोही अवधिको २७१ कम्पनीभन्दा बढी हो।

सूचीकृत कम्पनीहरूमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको प्रभुत्व कायमै छ, जसको बजार पुँजीकरणमा ५०.७ प्रतिशत हिस्सा रहेको छ। जलविद्युत् क्षेत्रले १७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगले ८.८ प्रतिशत, लगानी कम्पनीले ६.९ प्रतिशत, व्यापारिक संस्थाले ४.६ प्रतिशत, होटल क्षेत्रले ३.३ प्रतिशत र अन्य समूहका कम्पनीहरूले ८.३ प्रतिशत हिस्सा ओगटेका छन्।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट