Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

आईसीसी प्लेयर अफ द मन्थको अन्तिम सूचीमा दीपेन्द्रसिंह ऐरी


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को मे महिनाका लागि उत्कृष्ट पुरुष खेलाडी (प्लेयर अफ द मन्थ) को अन्तिम मनोनयन सूचीमा परेका छन्। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका ऐरीको यो मनोनयन नेपाली क्रिकेटका लागि अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

आईसीसीले सार्वजनिक गरेको अन्तिम तीन खेलाडीको सूचीमा दीपेन्द्रसँगै बंगलादेशका अनुभवी स्पिनर ताइजुल इस्लाम र विकेटकिपर ब्याटर मुशफिकुर रहिम पनि परेका छन्। तीनै खेलाडीले मे महिनाभर अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभावशाली प्रदर्शन गरेका थिए।

दीपेन्द्रले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतका खेलहरूमा नेपालका लागि उत्कृष्ट योगदान दिएका थिए। उनले ६ एकदिवसीय खेलमा ४९.८० को औसत र ११०.६६ को स्ट्राइकरेटमा २४९ रन बनाएका थिए। आक्रामक ब्याटिङका साथ टोलीलाई कठिन अवस्थाबाट उकास्ने भूमिका खेलेका उनले बलिङमा समेत प्रभाव जमाउँदै ४.५२ को इकोनोमी रेटमा ८ विकेट हात पारेका थिए।

ब्याट र बल दुवैमा सन्तुलित प्रदर्शन गरेपछि उनी आईसीसीको मासिक उत्कृष्ट खेलाडी अवार्डका प्रमुख दाबेदारमध्ये एक मानिएका छन्। पछिल्ला केही वर्षयता दीपेन्द्र नेपाली क्रिकेट टोलीका भरपर्दा खेलाडीका रूपमा स्थापित भएका छन्। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने विश्व कीर्तिमानसहित उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई महत्वपूर्ण सफलता दिलाउन योगदान दिएका छन्।

यता, महिला खेलाडीको विधातर्फ इंग्ल्याण्डकी लरेन बेल, पाकिस्तानकी गुल फिरोजा तथा न्युजिल्यान्डकी म्याडी ग्रिन उत्कृष्ट खेलाडी बन्ने प्रतिस्पर्धामा रहेका छन्। तीनै खेलाडीले मे महिनामा आफ्नो टोलीका लागि उल्लेखनीय प्रदर्शन गरेका थिए।

आईसीसीले सार्वजनिक मत र विशेषज्ञ प्यानलको मूल्याङ्कनका आधारमा प्रत्येक महिनाको उत्कृष्ट खेलाडी छनोट गर्ने गर्दछ। दीपेन्द्र अन्तिम सूचीमा परेसँगै नेपाली क्रिकेट समर्थकहरूमा उत्साह थपिएको छ। यदि उनी विजेता बनेमा आईसीसीको मासिक उत्कृष्ट खेलाडी अवार्ड जित्ने नेपालका थोरै खेलाडीमध्ये एक बन्नेछन्।

दीपेन्द्रको पछिल्लो मनोनयनले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय छवि थप बलियो बन्दै गएको संकेत गरेको छ। विश्व क्रिकेटमाझ नेपाली खेलाडीहरूको क्षमता र प्रभाव बढ्दै गएको सन्देशसमेत यसले दिएको क्रिकेट विश्लेषकहरूको भनाइ छ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट