युनेस्कोको रचनात्मक सहर सञ्जालमा कामपा र ललितपुर महानगर सदस्य
काठमाडौं । चलचित्र विधाबाट काठमाडौँ महानगरपालिका र सङ्गीत विधाबाट ललितपुर महानगरपालिका युनेस्कोको रचनात्मक सहर सञ्जालमा सदस्य बनेका छन् ।
काठमाडौँ उपत्यकाका स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिका चलचित्र विधाबाट र ललितपुर महानगरपालिका सङ्गीत विधाबाट युनेस्कोको रचनात्मक सहर सञ्जालमा सदस्य बनेपछि स्थानीय तहसँगै युनेस्को, ब्रिटिस काउन्सिल, एफसीए, आइएलओसहित निकाय तथा कार्यालय र रचनात्मक क्षेत्रसँग आवद्ध व्यक्तिहरूले संयुक्त प्रयास थालेका हुन् ।
रचनात्मक उद्योगको विकास र विस्तारका लागि कल्चरल एण्ड क्रिएटिभ इन्डष्ट्रिज फ्रेन्डस ग्रुप ९फर सिसीआई० निर्माण गरेर आपसी अभ्यास, ज्ञान, सीप अनुभव आदानप्रदान गर्न थालिएको कामपाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले जानकारी दिए। यसको पहिलो बैठक ललितपुर महानगरपालिकाले आयोजना गरेको थियो । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख डङ्गोलको अध्यक्षतामा दोस्रो बैठक सम्पन्न भएको छ ।
बैठकमा आफूले चयन गरेको विधा र यसअन्तर्गत सम्पन्न कामका विषयमा जानकारी गराउने क्रममा कामपाका कार्यवाहक प्रमुख डङ्गोलले, चलचित्र विधाले रचनात्मक उद्योगका अरु विधालाई चलचित्रबाट समेट्न सकिने र समुदायस्तरमा रचनात्मक अर्थतन्त्रलाई चलायमान बनाउन सकिने भएकाले काठमाडौँले चलचित्र विधा चयन गरेको बताए । उनका अनुसार काठमाडौँका समुदायभित्र लुकेका कथालाई चलचित्रको कथामार्फत पात्रसँग जोड्न सकिने, काठमाडौँलाई खुला स्टुडियोका रूपमा विकास गर्न सकिन्छ ।
“सार्वजनिकस्थलमा सामाजिक, सांस्कृतिक तथा पारिवारिक विषयमा आधारित चलचित्र प्रदर्शन गरेर समुदायलाई यसप्रति रुचि जगाउनु, चलचित्र संवाद गर्नु, शिक्षा, सूचना र सन्देशका विषय जोड्नु यसका मुख्य क्रियाकलाप हुन्”, प्रमुख डङ्गोलले भने, “यसले चलचित्रमा निर्माता, निर्देशक, कथाकारसँग समुदायको सम्बन्ध स्थापित गरेर उत्पादनस्थल उपलब्ध गराउनु र समुदायमा आय वृद्धि गराउनु र जनहितअनुसार नतिजा प्राप्त गर्नु रहेका छन् । समुदायमा भएका तर आयआर्जन हुन नसकिरहेका क्षेत्रलाई आयसँग जोडेर तथा यससँग सम्बन्धित कर प्रणालीलाई सहज बनाएर सहजीकरणको काम गर्दैछौँ”, उनले भने ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरले सङ्गीत विधाबाट युनेस्को क्रिएटिभ सिटीज नेटवर्कमा सदस्यता प्राप्त गरेको जनाउँदै यसलाई समुदायस्तरमा अभ्यास बढाउने तथा अन्तरराष्ट्रियस्तरमा परिचित गराउने कामसँग सम्बन्धित प्राथमिक योजना रहेको बताए।
रचनात्मक अर्थतन्त्र, दिगो विकासको प्रवर्द्धन, रोजगारी सृजना, अन्तरसम्बन्ध विकास, सहयोग र साझेदारी विस्तारका लागि स्थानीय सरकार र अन्तरराष्ट्रिय संस्थाहरूको साझा मञ्चका रूपमा यो समूहलाई अगाडि बढाउन खोजिएको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया