काभ्रे बस दुर्घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको दुःख व्यक्त, प्रभावकारी उपचार र छानबिनको माग
काठमाडौं, जेठ २९ / काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुल्चोकमा बिहीबार दिउँसो यात्रुवाहक बस दुर्घटना भई मानवीय क्षति भएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीले गहिरो दुःख व्यक्त गरेको छ।
पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङद्वारा जारी प्रेस विज्ञप्तिमा दुर्घटनामा ज्यान गुमाउने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विज्ञप्तिमा दुर्घटनापछि उद्धार तथा उपचार कार्यमा संलग्न सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि तथा सहयोगी सबैप्रति आभार व्यक्त गरिएको छ। पार्टीले घाइतेहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न तथा प्रभावित परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टीले यस्ता दुःखद दुर्घटनाको पुनरावृत्ति रोक्न सडक सुरक्षा, सवारी व्यवस्थापन तथा यातायात सेवाको प्रभावकारी अनुगमन र नियमनमा सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।
त्यसैगरी, दुर्घटनाको निष्पक्ष छानबिन गरी वास्तविक कारण सार्वजनिक गर्न र आवश्यक सुधारका कदम तत्काल अघि बढाउन सम्बन्धित निकायसँग माग गरिएको विज्ञप्तिमा उल्लेख छ।
काभ्रेको बुल्चोक क्षेत्रमा भएको उक्त बस दुर्घटनाले स्थानीयवासी तथा सर्वसाधारणमा शोकको वातावरण सिर्जना गरेको छ। दुर्घटनाको विस्तृत विवरण तथा क्षतिको यकिन तथ्यांक भने सम्बन्धित निकायबाट सार्वजनिक हुने क्रम जारी रहेको बताइएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया