सुशासन र प्रणाली सुधारबिना समृद्ध नेपालको सपना पूरा हुँदैन : सांसद पराजुली
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सुशासन, प्रणाली सुधार र भ्रष्टाचार नियन्त्रणमार्फत मात्रै समृद्ध नेपालको परिकल्पना साकार पार्न सकिने बताएका छन्।
नेपाल रत्न तथा आभूषण संघको २०औँ वार्षिक साधारण सभा तथा आठौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद पराजुलीले संसद्का विभिन्न समितिमार्फत नीतिगत सुधारका प्रयासहरू भइरहेको उल्लेख गरे। उनले नयाँ पुस्ताले राजनीतिमार्फत देशलाई सही दिशामा अघि बढाउने जिम्मेवारी लिएको भन्दै त्यसका लागि जनविश्वासलाई आधार बनाउनुपर्ने बताए।
उनले संसद्को प्रभावकारी अभ्यासमार्फत नीति निर्माण र सुधारका केही सकारात्मक उदाहरण स्थापित भएको उल्लेख गर्दै राजनीतिक नेतृत्वले जनताले दिएको विश्वासलाई ठोस परिणाममा रूपान्तरण गर्नुपर्ने धारणा राखे।
पराजुलीका अनुसार समृद्ध नेपालको आधार सुशासनयुक्त समाज हो। उनले भ्रष्टाचारलाई सुशासनको सबैभन्दा ठूलो बाधकका रूपमा चित्रण गर्दै यसको अन्त्यका लागि प्रणालीगत सुधार आवश्यक रहेको बताए।
“हामीले बलियो धरातल निर्माण गर्नुपर्छ, त्यो धरातल भनेको सुशासनयुक्त समाज हो,” उनले भने, “सुशासनको सबैभन्दा ठूलो अवरोध भ्रष्टाचार हो, त्यसलाई नियन्त्रण गर्न प्रणाली सुधारमा केन्द्रित हुनुपर्छ।”
उनले नेपालको प्रशासनिक र शासकीय प्रणाली लामो समयदेखि विभिन्न विकृति र विसंगतिबाट प्रभावित रहेको उल्लेख गर्दै त्यसको असर निजी क्षेत्रसम्म पुगेको बताए। व्यवसाय सञ्चालनका क्रममा विकसित भएका केही गलत अभ्यासहरू समयसँगै संस्थागत समस्याका रूपमा रूपान्तरित भएको उनको भनाइ थियो।
पराजुलीले विगतमा विभिन्न नेतृत्व तहबाट सुधारका प्रतिबद्धता आए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गरे। आफन्त र निकटवर्तीमाथि कारबाही गर्न नसक्नु पनि भ्रष्टाचार नियन्त्रणमा प्रमुख चुनौती बनेको उनले बताए।
उनले वर्तमान समयमा भने कानुनी शासन र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने अवसर सिर्जना भएको दाबी गरे। कानुन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिँदै उनले शक्तिशाली र प्रभावशाली व्यक्तिहरूलाई पनि कानुनी दायरामा ल्याउन सकिए मात्र सुशासनको लक्ष्य हासिल गर्न सकिने बताए।
“कानुन साना व्यक्तिलाई मात्र होइन, सबैलाई समान रूपमा लागू हुन्छ भन्ने विश्वास स्थापित गर्न सके मात्रै भ्रष्टाचारविरुद्धको अभियान सफल हुन्छ,” उनले भने।
सांसद पराजुलीले निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको संज्ञा दिँदै सुशासन अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरे। सरकार, निजी क्षेत्र र नागरिक समाजबीच विश्वास तथा सहकार्यको वातावरण निर्माण गर्न सके मुलुकलाई आर्थिक समृद्धि र सुशासनतर्फ अग्रसर गराउन सहज हुने उनको विश्वास छ।
उनले सुशासनको अभियान डर र दण्डको नभई विश्वास र सुधारको अभियान भएको उल्लेख गर्दै राष्ट्र निर्माणमा सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताए।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया