बेलायत र जापानबीच १८ अर्ब पाउन्डको लगानी सम्झौता हुँदै
काठमाडौं । बेलायत र जापानबीच १८ अर्ब पाउन्डभन्दा बढीको लगानी र प्रविधि साझेदारी सम्बन्धी ठूलो सम्झौता हुने भएको छ ।
आइतबार बेलायतका प्रधानमन्त्री किर स्टार्मर र उनकी जापानी समकक्षी सानाए ताकाइचीबीच हुने भेटवार्तामा यसको औपचारिक टुंगो लाग्ने बताइएको छ । यस बृहत् साझेदारीबाट बेलायतमा दशौं हजार नयाँ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।
यस सम्झौता अन्तर्गत पूर्वाधार र वित्तीय सेवाका क्षेत्रमा आगामी पाँच वर्षभित्र ९ अर्ब पाउन्डभन्दा बढीको जापानी लगानी भित्रिनेछ । यसका साथै बेलायतका समुद्री वायु ऊर्जा (अफशोर विन्ड) आयोजनाहरूका लागि थप ९ अर्ब पाउन्ड बराबरको लगानी परिचालन गर्ने योजना बनाइएको छ ।
यस वायु ऊर्जा परियोजनाले स्कटल्यान्ड र सेल्टिक समुद्रका आयोजनाहरू मार्फत ५.९ गिगावाट विद्युत् उत्पादन क्षमतालाई थप बल पुग्ने विश्वास गरिएको छ ।
प्रविधि क्षेत्रमा पनि दुवै देशले कृत्रिम बुद्धिमत्ता (एआई), सेमिकन्डक्टर र क्वान्टम कम्प्युटिङ जस्ता अत्याधुनिक विषयहरू समेट्ने गरी नयाँ साझेदारीको सुरुवात गर्नेछन् । यसले दुई देशबीचको प्राविधिक सहकार्यलाई नयाँ उचाइमा पुग्ने देखिन्छ ।
यसका अतिरिक्त हिटाची इनर्जी, रोल्स रोयस र आइसाई जस्ता विश्वप्रसिद्ध कम्पनीहरूले पनि पावर ग्रिड विस्तार, आणविक प्रविधि र जीवन विज्ञान (लाइफ साइन्स) का क्षेत्रमा नयाँ लगानी र सहकार्यका कार्यक्रमहरू घोषणा गर्ने तयारी गरेका छन् ।
फ्रान्समा जुन १५ देखि १७ सम्म आयोजना हुन लागेको जी–सेभेन शिखर सम्मेलनको पूर्वसन्ध्यामा प्रधानमन्त्री ताकाइचीले बेलायतको भ्रमण गर्न लागेकी हुन् । सोही अवसरमा अन्य विभिन्न व्यावसायिक र सरकारी सम्झौताहरूमा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया