Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

सीमामा कडाइपछि नेपालगञ्ज भन्सारको राजस्व बढ्यो, स्थानीय व्यापारमा पनि सकारात्मक प्रभाव


नेपालगञ्ज । भारतबाट नेपाल भित्रिने सामानमा भन्सार जाँच तथा शुल्क संकलनलाई कडाइ गरिएपछि नेपालगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा उल्लेखनीय वृद्धि भएको छ। विशेषगरी एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार शुल्क लागु गरिएपछि राजस्वमा सकारात्मक प्रभाव देखिएको हो।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलका अनुसार भन्सार प्रशासनले सीमा नाकामा निगरानी र जाँचलाई प्रभावकारी बनाएपछि पछिल्ला महिनाहरूमा राजस्व संकलन बढेको छ।

कार्यालयको तथ्यांकअनुसार फागुन महिनामा एक अर्ब ९३ करोड ३८ लाख १९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। उक्त रकम चैतमा बढेर दुई अर्ब १४ करोड २५ लाख ५४ हजार रुपैयाँ पुगेको छ। वैशाख महिनामा भने एक अर्ब ८४ करोड २८ लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

भन्सार प्रशासनले सीमापारि भारतीय बजार रुपैडिहाबाट साना तथा दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न नाकामा कडाइ गरेको जनाएको छ। यस कदमले राजस्व वृद्धिसँगै नेपालगञ्जका स्थानीय व्यवसायमा समेत सकारात्मक प्रभाव पारेको भन्सार कार्यालयको दाबी छ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दश महिनामा नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यको करिब ६८ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ। चालु आवका लागि २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ राजस्व लक्ष्य निर्धारण गरिएकोमा वैशाख मसान्तसम्म १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार रुपैयाँ संकलन भइसकेको छ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीका अनुसार सीमा क्षेत्रमा कडाइ गरिएपछि उपभोक्ताहरू भारतीय बजारमा जाने क्रम घटेको छ। जसका कारण स्थानीय बजारमा व्यापारिक गतिविधि बढ्न थालेको र व्यवसायीहरू उत्साहित बनेका छन्।

व्यापारिक क्षेत्रका सरोकारवालाहरूले सीमामा गरिएको कडाइले सरकारी राजस्व वृद्धि हुनुका साथै स्वदेशी बजार संरक्षणमा समेत योगदान पुगेको बताएका छन्।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट