Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

श्रमिकलाई विदेश पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गर्न विभागको आग्रह


काठमाडौं । वैदेशिक रोजगार विभागले श्रमिकलाई विदेश पठाउँदा अनिवार्य रूपमा स्वदेशी विमानस्थल प्रयोग गर्न वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी)हरूलाई निर्देशन दिएको छ।

पछिल्लो समय केही म्यानपावर कम्पनीले भारतसहित अन्य देशका विमानस्थल प्रयोग गरी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको गुनासो बढेपछि विभागले सचेत गराउँदै यस्तो व्यवस्था कडाइका साथ पालना गर्न आग्रह गरेको हो।

वैदेशिक रोजगार ऐन २०६४ को दफा २२ अनुसार वैदेशिक रोजगारीका लागि श्रमिक पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने प्रावधान रहेको विभागले स्मरण गराएको छ। कुनै विशेष कारणले विदेशी विमानस्थल प्रयोग गर्नुपरेमा भने विभागको पूर्वस्वीकृति अनिवार्य हुने व्यवस्था पनि ऐनमा उल्लेख छ।

त्यस्तै, वैदेशिक रोजगार नियमावली २०६४ को नियम १८ अनुसार पनि श्रमिक प्रेषण प्रक्रिया स्वदेशी विमानस्थलमार्फत नै हुनुपर्ने स्पष्ट गरिएको छ।

विभागले म्यानपावर कम्पनीहरूलाई परिपत्र जारी गर्दै श्रम स्वीकृति लिएका तथा विदेश पठाइएका श्रमिकहरूको विवरण समेत माग गरेको छ। विभागले २०८२ चैत १ देखि २०८३ जेठ ३१ सम्मको अवधिमा वैदेशिक रोजगारीमा पठाइएका श्रमिकहरूको सम्पूर्ण विवरण बुझाउन निर्देशन दिएको हो।

निर्देशनको अवहेलना गरी विदेशी विमानस्थल प्रयोग गरेको पाइएमा कानुनी कारबाही गरिने विभागले चेतावनीसमेत दिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट