Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

१८ वर्षमुनिका सदस्य रहेको समाचार भ्रामक, प्रारम्भिक आवेदनको तथ्याङ्क मात्र सार्वजनिक : रास्वपा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशनको सांगठनिक प्रतिवेदनमा समावेश गरिएको सदस्यता विवरणका आधारमा १८ वर्षमुनिका ३५ हजारभन्दा बढी सदस्य रहेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बुधबार जारी विज्ञप्तिमा पार्टीले सार्वजनिक भएको तथ्याङ्क अन्तिम रूपमा प्रमाणीकरण गरिएका सदस्यहरूको नभई डिजिटल प्रणालीमा रहेका प्रारम्भिक सदस्यता आवेदनको समष्टिगत विवरण मात्र भएको स्पष्ट पारेको छ।रास्वपाले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, बालबालिका सम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पार्टी सदस्य बनाउने वा सदस्यका रूपमा राजनीतिक गतिविधिमा संलग्न गराउने कुनै नीति वा अभ्यास नरहेको जनाएको छ।

पार्टीका अनुसार डिजिटल सदस्यता प्रणालीमा आवेदन, प्रमाणीकरण र अन्तिम स्वीकृति फरक–फरक प्रक्रिया हुन्। एप वा वेबसाइटमार्फत जोसुकैले सदस्यताका लागि आवेदन दिन सक्ने भए पनि नागरिकता लगायत आधिकारिक कागजातको आधारमा उमेर र राष्ट्रियता प्रमाणीकरण भएपछि मात्र सदस्यता स्वीकृत हुने व्यवस्था रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार आवेदनका क्रममा आवेदकले स्वयं विवरण प्रविष्ट गर्ने भएकाले विक्रम संवत् र ईस्वी संवत् पात्रो छनोटमा त्रुटि, जन्ममिति टाइप गर्दा भएको गल्ती वा जन्ममितिको सट्टा हालको मिति उल्लेख गरिएका कारण केही आवेदकको उमेर वास्तविकभन्दा कम देखिएको प्रारम्भिक अध्ययनबाट खुलेको छ।

रास्वपाले हालसम्म डिजिटल प्रणालीमा ५ लाख २३ हजार ४६५ सदस्यता आवेदन दर्ता भएको जानकारी दिएको छ। तीमध्ये ३ लाख ९० हजार ११२ जनाको विवरण नागरिकतालगायत आधिकारिक कागजातका आधारमा प्रमाणीकरण भइसकेको छ भने बाँकी आवेदन प्रमाणीकरणकै प्रक्रियामा रहेको जनाएको छ।घटनापछि पार्टीले सदस्यता प्रणालीको प्राविधिक तथा प्रशासनिक समीक्षा सुरु गरेको बताएको छ। १८ वर्षभन्दा कम उमेर देखिने आवेदनलाई प्रणालीबाटै स्वतः रोक्ने, प्रमाणीकरण भएका विवरणको पुनः परीक्षण गर्ने, विक्रम संवत् र ईस्वी संवत्सम्बन्धी त्रुटि न्यूनीकरणका लागि थप प्राविधिक व्यवस्था गर्ने तथा बाँकी आवेदनलाई आधिकारिक कागजातका आधारमा पुनः प्रमाणीकरण गर्ने निर्णय गरिएको जनाइएको छ।

रास्वपाले पर्याप्त परीक्षण र प्रमाणीकरण नगरी प्रारम्भिक आवेदनका तथ्याङ्क महाधिवेशनको सार्वजनिक प्रतिवेदनमा समावेश हुँदा आमनागरिक, सञ्चारमाध्यम तथा सरोकारवालामा भ्रम सिर्जना भएको स्वीकार गर्दै त्यसप्रति दुःख व्यक्त गरेको छ। साथै, सम्पूर्ण विवरण पुनः परीक्षण गरी संशोधित तथा अद्यावधिक सदस्यता तथ्याङ्क यथाशीघ्र सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।

पार्टीले विधिको शासन, संविधानको सर्वोच्चता, सुशासन, पारदर्शिता तथा प्रचलित कानुनको पूर्ण पालनाप्रति आफू प्रतिबद्ध रहेको पुनः दोहोर्‍याएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट